१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

पर्यटन र उद्योगबाट कपिलवस्तुको विकास : सांसद पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु विकास निर्माणमा सबै पछाडि पर्दै आएको छ । केन्द्रिय राजनीतिको पहुँच हुँदा हुँदै पनि विकास निर्माणको हिसाबमा कपिलवस्तु पछाडि रहदै आएको हो । तराईका जिल्लाहरु मध्ये कपिलवस्तु विकास निर्माणमा कमजोर रहदै आएको तथ्य बेला बेला सार्वजनिक हुदै आएको विषय हो । तर पनि पछिल्लो राजनीतिक उपलब्धिले हासिल गरेको स्थानीय र प्रदेश सरकार बने संगै कपिलवस्तुको विकास हुनेमा नागरिक आशाबादी छन । यही समग्र कपिलवस्तुको आर्थिक विकास संग जोडेर ‘आर्थिक खबर’ का कपिलवस्तुका प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थी संग कुराकानी गरेका छौ ।

आर्थिक खबर  : समग्र कपिलवस्तुको विकास अब कसरी बढ्ला ? कपिलवस्तुबासीले केही आशा गर्ने ठाउँ छ ?

सांसद  : किन नहुँनु कपिलवस्तुबासीले प्रशस्तै आशा गर्ने ठाउँ छ । हाम्रो प्रदेशका १२ जिल्लाहरु मध्ये कपिलवस्तु साधन स्रोत, सम्भावनाका र ऐतिहासिकताका हिसाबले पहिलो पंक्तिको जिल्ला हो । विगतमा अनेक कारणले र खासगरी राजनीतिक नेतृत्वहरुबाट विकास प्रति उदासिनताले गर्दा यो पछाडि परेको हो । कृषि, पर्यटन र उद्योग उत्तिकै महत्वको साथ विकासका आधारहरु हुन । हामी अब केही महत्वपूर्ण पूर्वाधारहरु सहित समग्र जिल्लाको उचित विकासको लागि योजनाबद्ध ढङ्गले अगाडि बढ्दैछौ ।

आर्थिक खबर  : विकासका कुरा त धेरै भए तर ठोस योजना आउन सकेका छैनन । तपाई भन्नुस विकासका ठोस योजना के के हुनसक्छन ?

सांसद  : ठोस योजनाका कुरा गर्दा पहिलो हामी कृषि क्षेत्रको विकासमा ध्यान दिन्छौ । यसको लागि प्रमुख समस्या सिंचाई हो । सिंचाईको लागि तत्तकालिन र दीर्घकालिन योजना बनाएका छौं । तत्तकालिन योजनामा जिल्ला भित्रको पानीका स्रोतलाई उचित संरक्षण, विकास र वितरण मार्फत पुरा गर्छौ । जस्तो कि वाणगंगा सिंचाई प्रणाली ठूलो सिंचाई प्रणाली भएता पनि यसको पूरा उपयोग हुन सकेको छैन । त्यस्तै हामी संग भएका अरु सिंचाई आयोजनाको स्थिति पनि त्यस्तै छ । केहि आयोजनाहरु बन्ने क्रममा छन । विकासमा राज्यको लगानीबाट बनेका डिप बोरिङहरु पनि सामान्य मर्मत, सम्भारको अभावमा धेरै बन्द प्राय छन । हाम्रा कुलानालाहरुको मर्मत सम्भार र आधुनिकता दिने हो भने एकिकृत ढङ्गले धेरै फाइदा लिन सकिन्छ । जिल्लामा प्रधानमन्त्री कृषि प्ररियोजना अन्तरगत धान जोन, तरकारी जोन र माछा जोन लागु भएको छ । त्यसबाट पनि जिल्लामा कृषिको विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।

आर्थिक खबर  : तपाईले भएका कुलानालाहरुको मर्मत सम्भार र आधुनिकताको कुरा गर्नुभयो ? यसले जनतामा सिंचाई सुविधा मात्र पुग्ने हो की अरु केहि फाइदा हुन्छ ?

सांसद  : हाम्रा पराम्परागत कुला नाला र झरनहरुलाई मर्मत सम्भार गरेर पानी भण्डारण गर्दा बर्षाको बाढी नियन्त्रण हिउँदमा सिंचाई सुविधा, व्यवसायिक माछापालन, पर्यटन र वातावरणमा धेरै ठूलो फाइदा लिन सकिन्छ । र भविष्यमा पानीको लागि यो भन्दा अर्को विकल्प छैन । किनकि डिप बोरिङहरु दीर्घकालीन होइनन । दिनानु दिन जनसंख्या बृद्धि भैरहेको र वातावरण ह्रासले गर्दा पानीको मुहान कुनै दिन सुक्न सक्ने पक्का छ । त्यसैले अब हामी बर्खाको पानीलाई भण्डारण गर्ने खालको योजना बनाउँनुपर्छ ।

आर्थिक खबर : तपाईले पर्यटनका कुरा पनि जोडतोडले गर्दै आउनुभएको ? के कपिलवस्तुले पर्यटनबाट प्रशस्तै लाभ लिन सक्ला ?

सांसद  : पक्कै सक्छ । कपिलवस्तुको पर्यटनको हिसाबले थुप्रै सम्भावना भएको ठाउँ हो । तर पनि विकास भएको छैन । अब हाम्रो पूर्ण ध्यान पर्यटकिय संरचना बनाउनेमा हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिला बाटाघाटा राम्रा हुनु पर्छ । पर्यटकिय स्थहरु भएपनि संरचना राम्रा छैनन । संरचना बनाउँदा पर्यटकको मन लोभ्याउने विशाल खालको निर्माण गर्नुपर्छ । नमुना संरचना पर्यटको रोजाईमा पर्न सक्छन । यस्तै पर्यटकिय स्थलहरुको सुन्दरतामा पनि उतिकै मात्रामा ध्यान दिनुपर्छ । पर्यटकका लागि राम्रा होटल, रेष्टुरेष्ट, लज बनाउनुपर्छ । त्यसको लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकार लाग्नेछ ।

आर्थिक खबर  : र अन्त्यमा सिंगो कपिलवस्तु विकासको रोडम्याप कसरी बनाउँन राम्रो होला ?

सांसद  : सिंगो कपिलवस्तुलाई पर्यटन र उद्योगमा विकास गर्ने हो । त्यसको लागि चन्द्रौटा—कृष्णनगर क्षेत्रलाई विशाल औद्योगिक करिडोर बनाउने छौ । चन्द्रौटा क्षेत्र अब सिंगो पाँच नम्बर प्रदेशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र बन्नेछ । यता पूर्वी उत्तरी क्षेत्रलाई पर्यटनको माध्यमबाट विकास गर्नेछौ । बुद्धको क्रिडास्थल तिलौराकोट लगायतका बुद्धस्थलहरुको विकासलाई पहिलो प्राथमिकतामा राखेर यो क्षेत्रलाई विकास गर्ने योजना छ । कपिलवस्तु सिंगो प्रदेश भरिको प्राचिन मानववस्ति रहेको प्रमाणित भैसकेको छ । त्यसैले कपिलवस्तु कपिलवस्तु मात्र नभई प्राचिन कपिलवस्तु हो । सिंगो पर्यटनको माध्यमबाट जिल्लालाई संसारमा चिनाउने गरि विकास गरेर स्थानीयस्तरमा रोजगारका अवसर सिर्जना गर्ने गरि प्रदेश सकार लाग्नेछ । यस्तै कपिलवस्तुका केही स्थानलाई पकेट क्षेत्र मानेर कृषि क्षेत्रलाई अगाडि बढाउनेछौ । त्यसको लागि केही समय पर्खिनु पर्ला । अवश्य काम गरेर देखाउँने छौ ।

प्रकाशित मिति : २४ बैशाख २०७५ सोमबार ००:००  २ : १६ बजे