२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बेल्जियम र ब्राजिल क्वाटरफाइनलमा प्रवेश, जापान र मेक्सिकोको सपना चकनाचुर



मस्को, एजेन्सी ।
बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
२–० गोलले पछि परेको अवस्थामा खेल उल्टाउँदै बेल्जियमले जित हात पारेको हो । जापानले खेलको अन्तिम केही सेकेन्ड बेल्जियमलाई रोक्न नसक्दा हार ब्यहोरेको हो । अतिरिक्त समयमा बेल्जियमले गोल गर्न सफल भयो । बेल्जियमका लागि नासेर चाड्लीले गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्याए ।
यससअघि जान भेर्टोनघेनले खेलको ६९औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २–१ गोलको स्थितिमा पुर्याएका थिए । उनले सुन्दर हेडर गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै अर्को गोल गर्दै बेल्जियमले जापानविरुद्ध २–२ गोलको बराबरीमा पुर्याएको थियो । यो पटक भने बेल्जियमका मरौने फेलाइनीले गोल गरेका थिए ।
यसअघि जापानका लागि जेन्की हरागुचीले खेलको ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले सुन्दर गोल गरेका थिए । त्यसको ४ मिनेट पछि खेलको ५२औं मिनेटमा टाकासी इनुइले गोल गर्दै जापानलाई २–० गोलको अग्रता दिलाएका थिए । जापानले उत्कृष्ट प्रदर्शन गर्दै ४ मिनेटभित्र अर्को गोल गर्न सफल भएको थियो ।
पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । सुरुवाती समयदेखि नै बेल्जियमले बल नियन्त्रणमा लिएको थियो ।
रसियाको रोस्टोभ एरिनामा अन्तिम समयमा जापान चुक्न पुग्यो । बेल्जियमलाई पराजित गर्दै ऐतिहासिक सफलता नजिक पुगेर पनि पराजित भएको जापान विश्वकपबाट बाहिरिएको छ । यता, बेल्जियम भने क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ ।
यता बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो ।
पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो । तर पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।
ब्राजिलको जितमा स्टार खेलाडी नेइमार नायक बने । उनले ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै निर्धा्रित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट रोबर्टो फर्मिनोले गोल गरे ।
नेइमारले विलियनको क्रसमा गोलपोस्ट नजिकैबाट बललाई जाली चुमाए । नेइमारको गोल ब्राजिलले विश्वकपमा गरेको २२७ औं गोल हो । जुन अहिलेसम्मै धेरै हो । यसअघि विश्वकपमा धेरै गोल गर्ने देश जर्मनी रहेकोमा उसलाई पछि पार्दै ब्राजिलले कीर्तिमान राखेको हो ।
विश्वकपमा आज प्रिक्वार्टरफाइनल चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । जसमा स्वीट्जरल्याण्ड र स्वीडेन तथा इंग्ल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन् । यसअघि अन्तिम १६ को खेलमा पराजित हुँदै जारी विश्वकपबाट स्पेन, डेनमार्क, अर्जेन्टिना र पोर्चुगल बाहिििरसकेका छन् भने आयोजक रुस, क्रोएसिया, फ्रान्स र उरुग्वे अन्तिम आठमा पुगेका छन् ।

प्रकाशित मिति : १९ असार २०७५ मंगलबार ००:००  १ : २८ बजे