२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

आगामी विश्वकप फुटबल जाडो महिनामा



एजेन्सी ।
फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरे । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो ।
२१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नु पर्नेछ । फुटबलका अधिकांश घरेलु लिगहरु अगस्ट देखि अप्रिलसम्म हुने गरेका छन् । तर सन् २०२२ मा लिगको मितिमा परिमार्जन गर्नु पर्नेछ ।
‘आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ’, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा जियान्नी इन्फान्टिनोले भने, ‘सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।’
३२ टिम समावेश गरेर खेलाइने यो अन्तिम विश्वकप हुनेछ । सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ३० असार २०७५ शनिबार ००:००  ११ : ५५ बजे