१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश मै सबैभन्दा पहिलो परासीमा कृषि ज्ञान केन्द्र स्थापना



नवलपरासी ।
प्रदेश नं. ५ को पश्चिम नवलपरासी जिल्लाको परासीमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको सो कृषि ज्ञान केन्द्रले पश्चिम नवलपरासी र रुपन्देही जिल्लामा कृषिसम्बन्धी सेवा प्रदान गर्नेछ । सो कृषि ज्ञान केन्द्र ५ नं प्रदेशका विभिन्न आठ जिल्लामा रहने केन्द्रमध्ये सबैभन्दा पहिलो हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले प्रदेशका विभिन्न आठ जिल्लामा स्थापना हुने यस्ता केन्द्रले कृषिमा नयाँ प्रविधि विस्तार र ठूलाठूला किसानलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । केन्द्रमा तत्कालका लागि १७ कर्मचारीको दरबन्दी रहनेछ । हाल प्रदेशको आठ जिल्लामा यी केन्द्र स्थापना हुने भएपनि आगामी दिनमा १२ वटै जिल्लामा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको छ ।

सो प्रदेशका सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आज सो केन्द्र उदघाटनका अवसरमा सबै सरकारी सेवामा जनताको सहज पहुँचका लागि प्रदेश सरकारले काम अघि बढाइरहेको बताउनुभयो । मन्त्री चौधरीले सेवा प्रवाहका क्रममा देखापर्ने समस्या समाधान गर्न सरकार तत्पर रहेको छ भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय बैजनाथ जयसवाल, भगवती भण्डारी, जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख शिवशङ्कर राय, पश्चिम नवलपरासीका प्रजिअ देवेन्द्र लामिछानेलगायतले केन्द्रको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो । (रासस)

प्रकाशित मिति : १३ भाद्र २०७५ बुधबार ००:००  ४ : २२ बजे