१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मादल र सारंगी बनाएरै आमे गन्धर्वको कमाइ डेढलाख



हरि अधिकारी, कपिलवस्तु ।
पछिल्लो समय गन्धर्व समुदाय परम्परागत पेशाबाट पलायन हुँदै गएका छन् । तर कपिलवस्तु वाणगंगामा ६ का आमेबहादुर गन्र्धव भने पुर्खौली पेशा मादल र सारंगी बनाएरै मनग्य आम्दानी गर्न सफल भएका छन् ।
कपिलवस्तुका आमेबहादुर गन्धर्व ६२ वर्षको हुनुभयो । उहाँले विगत १८ वर्षदेखि घरमै बसेर सारङ्गी, मादल, डम्फु र दमा लगायत नेपाली मौलिक बाजा बनाउँदै आउनु भएको छ । यो उहाँको पुर्खौली पेशा हो । अधिकांश गन्धर्व परम्परागत पेशाबाट पलायन भैसके तर वाणगंगा नगरपालिका–६ का आमेबहादुर गन्धर्व परम्परागत पेशा धान्दै आउनुभएको छ ।
आमेबहादुरले आफनै सीप प्रयोग गरेर सारङ्गी, मादल, डम्फु जस्ता बाजा बनाएर आम्दानी गर्दा धेरै खुशी छन् । चाडपर्वको बेला कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पाबाट मादल, सारङ्गी खरिद गर्न आउने गरेका छन् । चाडपर्व भित्रिएसँगै मादल सारङ्गी लगायतका सामाग्री बनाउन आमे बहादुर गन्धर्वलाई यतिवबेला भ्याइ नभ्याई छ ।
सिजनमै डेढलाखसम्म मादल र सारङ्गी बनाएर आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय आधुनिकतासँगै भित्रिएको प्रविधिले सारङ्गीको माग बजारमा घटेको बताएपनि मादलको माग भने बढिरहेको आमेको अनुभव छ । आमेलाई यो पेशमा परिवारको पनि साथ छ ।
नेपालीहरुको चाडपर्व कृष्णजन्माष्टमी, तीजलगायतका पर्वहरु भित्रिन थालेपछि स्थानीय बजारमा बादलको माग बढेको छ । राम्रो मादल बनाउने भएकाले आमे बहादुर गन्धर्वकै घरमै टाढा टाढाबाट मादल बनाउन र खरिद गर्न आउने गरेको कपिलवस्तु नगरपालिका ६ शिवपुराका गंगाराम सापकोटा बताउनुहुन्छ ।
सारङ्गी, मादल बनाउने र विक्री वितरण गरेर आम्दानी गर्ने कार्यमा युवा पिढीले खासै रुची नराख्दा यो व्यवसाय संकटमा परेको छ । परम्परागत रुपमा गन्धर्व समुदायले अपनाउदै आएको सारङ्गी बजाउने पेशा पछिल्लो समय हराउदै गएपछि अन्य वैकल्पिक पेशा समेत अपनाइएको पाइन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १ : १६ बजे