१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुलाकी सडक हिलाम्मे हुँदा सास्ति !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु दक्षिणी भेगका नेताहरुले प्रत्येक चुनावमा हुलाकी मार्गको विषयलाई प्रमुख एजेण्डाको रुपमा उठाउँदै आएका छन् । यही एजेण्डा बोकेकै भरमा अधिकांशले चुनाव जिते । तर, यो विषय एजेण्डामा मात्रै समिति हुनु पुगेको छ । मधेशका जिल्लाहरु जोड्ने देशकै अति पुरानो हुलाकी मार्ग अहिले हिडि नसक्नु अवस्थामा पुगेको छ । जिल्लाको सदरमुकाम तौलिहवा देखि बहादुरगञ्ज जोड्ने २० किलोमिटरको यो मार्ग बर्खा लागे पछि हिडि नसक्ने अवस्थामा पुगेको हो । सडकमा ठूलाठूला खाल्टा परेर छ भने बाटो हिलाम्मे छ । जसले गर्दा सर्वसाधारणलाई आवागमनमा समस्या परेको छ ।

जिल्लाको जमुनी, बुटाहनिया, भलवारी, बराईपुर, राजपुर, बर्गदी, छोटकी तौलिहवाका अधिकांश स्थानमा ठुलाठुला खाल्टाहरुमा पानी जम्नुका साथै बाटो हिलाम्मे बन्न पुगेको हो । बर्खा लागे संगै सडकमा पानी जम्नुका साथै अत्याधिक हिलोले गर्दा ट्रयाक्टर बाहेकका सवारी साधन चल्न समस्या भएको जमुनी गाउँका हरीराम मौर्याले बताए । “बर्खा लागे संगै हुलाकी मार्गमा हिड्न सकिदैन्, उनले भने, ‘यो हाम्रा लागि नौलो कुरा होइन् हरेक बर्ष यस्तै हुन्छ ।” सडक हिलाम्मे हुनुका साथै पानी जमेको कारण सडक खतरनाक बन्न पुगेको उनले बताए । यो बाटो भएर मोटरसाइकल चलाउन समेत जोखिम मोल्नुपर्ने उनको भनाई छ ।

ठूला खाल्टाहरुमा ट्रयाक्टर जेनतेन चल्ने गरेपनि अन्य सवारी साधन चल्न नसकेको सोही गाउँका दिलिप कोहारले बताए । यो बाटो हुँदै हिड्ने मोटरसाइकल दैनिकजसो चिप्लिएर दुर्घटनाको शिकार बनेको उनले जनाए । सडकको अवस्था सुध्रिएला भन्ने आशा अब मरिसकेको उनी बताउँछन् । ‘हुलाकी सडक आज बन्छ, भोली बन्छ भन्दै आश्वासन सुन्न थालेको दशक वित्यो उनले गुनासो गर्दै भने, “अब पनि बन्छ भन्ने आशा कति छैन् ।”

चुनावको समयमा बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरुले चुनावी नारा बनाए पनि जितेर गएपछि प्रायः सबै प्रतिवद्धताहरु प्रतिवद्धता मै सिमित हुन पुगेको बहादुरगंजका स्थानीय राम मनोरथ चौधरी बताउँछन् । सडक विग्रिएको कारण सदरमुकाम आउँजाउँ गर्न समस्या त भएकै छ खेतबारीमा उत्पादित सामान पनि बजार सम्म ल्याउन समस्या भएको कृषकहरु बताउँछन् । उत्पादित बस्तुहरु बजारसम्म पु¥याउन नसकेका कारण रोजीरोटी चलाउन पनि धौधौ भएको कृषकको गुनासो छ ।

हुलाकी मार्ग राष्ट्रिय महत्वको भएकोले स्थानीय तहले चासो कम देखाउने गरेका छन् । स्थानीय तहले अरु ठाउँका बाटाहरु बनाउने गरेपनि हुलाकी मार्ग बनाउन तर्फ ध्यान दिएका छैनन् । प्रदेश सरकारले पनि यो मार्ग बनाउन तर्फ कुनै कदम चालेको छैन् । तराईका जनताले सरोकार राख्ने राष्ट्रिय महत्वको हुलाकी मार्गलाई चाँडै व्यवस्थित बनाउनुपर्नेमा प्रदेश सांसद विष्णु पन्थीको जोड छ । “हुलाकी मार्गको अवस्थाबारे जानकार छु् पन्थीले भने, “यस विषयमा प्रदेश र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्छ ।”

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : २१ बजे