२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै



नवलपरासी ।
पूर्वी नवलपरासी स्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् ।

देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउनुहुन्छ । नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन् ।

देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताउनुभयो ।

यहाँ समितिले एक हजार ९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावर निर्माण गरेको छ । उक्त भ्यूटावरबाट मनोरम दृश्यावलोकन गर्न सहज भएको छ ।

पूर्वी नवलपरासीको एक मात्र पदयात्राका लागि उपयुक्त ठाउँ देवचुली डाँडालाई चिनाउन देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाले संयुक्त योजना बनाउनु आवश्यक छ । (रासस)

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  ३ : ११ बजे