११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

सुठौली भन्सार कार्यालयको अर्थमन्त्री खतिवडाद्धारा समुद्घाटन



दिपक आचार्य, तौलिहवा ।
कपिलवस्तुको सुठौली भन्सार कार्यालयको समुद्घाटन गरिएको छ । छोटी भन्सार नाकाबाट स्तर उन्नती भई मुल भन्सार कार्यालय भएको यस भन्सार कार्यालय सोमबार समुद्घाटन गरिएको हो । जिल्लाको यशोधरा गाउँपालिकाको सुठौलीमा आयोजित एक कार्यक्रमका बीच अर्र्थमन्त्री डा. युवराज खतिवडाले सुठौली भन्सार कार्यालयको समुद्घाटन गरेका हुन । कार्यालय समुद्घाटन गर्दै मन्त्री खतिवडाले भन्सार कार्यालयबाट यस क्षेत्रका उद्योगी, व्यवसायी बढी लाभान्वित हुने बताए ।
‘सानो भन्सार नाकाबाट सेवा दिइरहेको यस नाकालाई ठुलो भन्सार कार्यालय बनाएका छौँ, उनले भने, “अब दोस्रो मुलुकबाट सामान आयात तथा निर्यात गर्न सहज हुने छ ।” सरकारले राजश्व बृद्धि गर्न देशका ५ छोटी भन्सारलाई ठुलो भन्सार कार्यालयको रुपमा स्थापना गरेको उनले जनाए । अब कार्यालयको भौतीक व्यवस्थापन तर्फ लाग्ने उनले बताए । अर्थमन्त्री खतिवडाले आइतबार मात्र नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयको समुद्घाटन गरेका थिए ।
देशभरका १ सय ४३ छोटी भन्सार मध्ये ५ वटा मुल भन्सार कार्यालयको रुपमा सरकारले स्तर उन्नती गरेर काम सञ्चालन गर्ने तयारीमा रहेको भन्सार विभागका महानिर्देशक तोयम रायले बताए । जसमध्ये ३ वटा भन्सार कार्यालयको उद्घाटन भइसकेको उनले जानकारी दिए । अब आवश्यक पूर्वाधार विकासमा जोड दिने उनले जनाए ।
गत वर्ष यस सुठौली छोटी भन्सार कार्यालयबाट २५ करोड ५३ लाख राजश्व संकलन गरिएको थियो । भारतबाट चामल, गहुँ, मकै, जुनेलो, फलफुल तरकारी लगायतका बस्तुहरु आयात हुने यसनाकाले अब कपडा लगायतका कच्चा पदार्थ आयात गर्न पाउने छ ।
सुठौली भन्सार कार्यालयले अब तीन वटा छोटी नाकाहरुको रेखदेख गर्ने छ । जसमा रंगपुर, गौरा, चाकडचौडा रहेका छन । सुठौली भन्सार कार्यालयले आर्थिक वर्ष ०७५।०७६ अन्तरगत हालसम्म ९८ लाख राजश्व संकलन गरिसकेको जनाएको छ । सुठौली भन्सार कार्यालयले सोमबार देखि काम थाले संगै जिल्लामा दुई ठूला भन्सार कार्यालय भएका छन । यसभन्दा अगाडी कृष्णनगर भन्सार कार्यालय सञ्चालनमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : ४१ बजे