८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

कपिलवस्तुका बुद्धस्थल वरपर उद्योग सञ्चालन गर्न रोक !



दिपक अनुरागी, कपिलवस्तु ।
कपिलवस्तुका बुद्धस्थल वरपर कुनै उद्योग सञ्चालन गर्न नपाइने भएको छ । बुद्धको क्रिडास्थलको रुपमा संसारभर परिचित कपिलवस्तुमा रहेका बुद्धस्थलमा उद्योग सञ्चालन गर्न नपाइने भएको हो । हाल अधिकांश बुद्धस्थल वरपर उद्योग सञ्चालन हुँदै आएका छन । यी उद्योगले वातावरणीय प्रदुषण बढाएको छ भने यहाँ घुम्न आउने पर्यटकले पनि सास्ती खेप्नु परेको छ ।
विशेष गरी बुद्धको राजदरबार तिलौराकोट वरपर बालुवा प्रशोधन उद्योग सञ्चालन हुँदै आएका छन भने जगदीशपुर ताल वरपर पनि अनियन्त्रित रुपमा बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन । यसले यहाँ घुम्न आउने पर्यटकलाई नकरात्मक सन्देश प्रवाह गरेको सरोकारवाला बताउँछन् ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र वरपर १५ किलोमिटरमा उद्योग सञ्चालनमा प्रतिबन्ध छ । सोही प्रतिबन्ध अब कपिलवस्तुमा पनि लागु हुन थालेको प्रदेश सांसद विष्णु पन्थीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । लुम्बिनीबाट हाल कायम रहेको १५ किलोमिटर पश्चिमको दुरीलाई बढाएर प्राचीन कपिलवस्तुको तिलौराकोट भागिरथी नदी पुर्व लम्बुसागर, निगालिकोट, कपिलधाम, राजापानी, अडौराकोट, सिसहनियाकोट, गोटिहवा, कुदान लगायतका क्षेत्र वरपर बायु प्रदुषण उद्योग चलाउन निषेधित गरिएको सांसद पन्थीले जानकारी दिनुभयो ।
यस कार्यबाट उद्योगीलाई पर्न गएको असुविधा प्रति उहाँले दुख व्यक्त गर्नुभएको छ । बुद्धस्थल संसारले चिन्ने स्थान भएकोले यसलाई पर्यटनको क्षेत्रमा विस्तार गर्नुपर्नेमा उहाँको जोड छ । हाम्रा सम्पदा हाम्रा गौरव र बिकासका आधार भएको भन्दै उहाँले यी सम्पदालाई संरक्षण, सम्बर्धन गर्नु पनि जिल्लाबासीको दायित्व भएको बताउनुभयो ।

उद्योग सञ्चालनमा रोक लाग्ने भएपनि यसको कार्यविधि प्रदेश सरकारले छिट्टै बनाउने भएको छ । साथै हाल सञ्चालनमा आएका उद्योगका हकमा के हुने भन्ने बारे पनि प्रदेश सरकारले निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  ४ : ३१ बजे