२ असार २०८१, शनिबार | Sun Jun 16 2024

धार्मिक एवं पर्यटकीय धरोहर रेसुङ्गा क्षेत्र ओझेलमा



शिवलाल सुवेदी, गुल्मी ।

धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण रमणीय क्षेत्र भए पनि जिल्लाकै धरोहरका रुपमा रहेको रेसुङ्गा क्षेत्र ओझेलमा परेको छ । स्थानीयवासीहरुले नै रेसुङ्गा क्षेत्रको विकास र सरक्षणमा चासो नदेखाएकाले ऐतिहासिक तथा धार्मिक र पर्यटकीय क्षेत्र रेसुङ्गाको विकास हुन सकेको छैन ।

ऋषिमुनिहरूले तपस्या गरेका स्थान, २ सय वर्षअघिका शिलालेख र भग्नावशेष घरका प्रमाणहरू, रमणीय देखिने हिमालहरूले रेसुङ्गालाई निकै मनमोहक बनाए पनि प्रवर्द्धनको अभावमा यस क्षेत्रमा पर्यटकहरु आउन सकेका छैनन् । रेसुङ्गा क्षेत्र साच्चिकै धार्मिक एवं पर्यटकीय दृष्टिले रमणिय रहेछ अर्घाखाचीका नारायण भुसालले भने‘ यसको विकास र प्रचार–प्रसार भएन ।’ उनका अनुसार यसको प्रचार–प्रसारसगै केही काम गर्न सकेमा रेसुङ्गा क्षेत्रमा हजारौ पर्यटकहरु घुम्न आउने बताए । पहिलो पटक रेसुङ्गा घुम्न आएका उनले रेसुङ्गा घुम्दै टुप्पोमै पुग्दा त छुट्टै खालको आनन्द आएको बताए ।

उनले गौशाला, सानो रेसुङ्गा, महापोखरी, यज्ञशाला, लगायत टुप्पोमा रहेका सवै मठ मन्दिरहरुको दर्शन र अवलोकन गरेको बताए । मैले यहाँ रहेका सवै धार्मिक तथा ऐतिहासिक महत्व वोकेका स्थानहरुको दर्शन र अवलोकन गरे उनी भन्छन‘ समुन्द्री सतहबाट २ हजार ३ सय ३९ मिटर उचाइको रेसुङ्गाडाँडामा अवस्थित २५ फिट अग्लो भ्यू टावरबाट वरपरका क्षेत्रहरु हेर्दा छुट्टै आनन्द आयो साथै जैविक विविधता, पर्यटकीय र वातावरणिय दृष्ट्रिले पनि रेसुङ्गा त्यत्तिकै महत्त्वपूर्ण रहेछ ।’

रेसुङ्गा जंगलमै बसेर २ सय ५० वर्ष अगाडि शशीधर स्वामीले तपस्या गरेकाले पनि यसको धार्मिक महत्व बढी रहेको छ । धार्मिक महत्वसँगै यसको पर्यटन विकासका लागि रूरू–रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले पूर्वाधार निर्माण, मन्दिरहरूको जीर्णोद्धार, सडक र व्यवस्थित पार्कहरूको निर्माण गरेपछि यस क्षेत्रमा पर्यटकीय सम्भावनाहरू बढ्दै गएको र विभिन्न गोष्ठी, सम्मेलन र बैठकका लागि पनि रेसुङ्गा छनोटमा पर्ने गरेको छ । रेसुङ्गा क्षेत्रको विकासका लागि रेसुङ्गा संरक्षण समितिले समेत महत्वपूर्ण कार्यहरू गर्दै आएको भएपनि यसको राम्रो प्रचार र विकास नभएकै कारण अहिलेपनि पर्यटकहरु रेसुङ्गमा पुग्न सकेका छैनन ।

जिल्ला वन कार्यालयका अनुसार रेसुङ्गा जंगलमा एक धार्मिकसहित १३ वटा सामुदायिक वनहरु रहेका छन । भर्खरै मात्र रेसुङ्गालाई रेसुङ्गमा सरक्षित क्षेत्रको रुपमा नेपाल सरकारवाट घोषणा भएको छ । यसै जंगलको स्रोतका रूपमा रहेका मुहानबाट रेसुङ्गा नगरपालिका, गुल्मीदरवार गाउँपालिका , छत्रकोट गाउँपालिका र रुरु गाउँपालिकाका अधिकाशं वडाहरुमा खानेपानी सुविधा पुगेको छ । रेसुङ्गा क्षेत्रमा १ सय ६० वटा खानेपानीका मुहानहरु रहेको रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शकंर प्रसाद गौतमले जानकारी दिए ।

हिउँदको सुख्खा समयमा पनि यस जंगलबाट ४० भन्दा बढी मुहानबाट पानी बगिरहेको हुन्छ गौतमले भने‘ यो गुल्मी जिल्लाकै गहना हो, तर यसको उचित ब्यवस्थापन र विकास नभएकाले गुल्मेलीहरु हामी धेरै पछाडि परेका छौ ।’ रेसुङ्गा क्षेत्रमा रतुवा (रातो) मृग, खरायो, चितुवा, कालिज, कोइली, घोरल, सुगा, बट्टाई लगायतका ८ सय ६२ प्रजातिका चराचुरुङ्गीहरूको बासस्थल रहेको छ । यस क्षेत्रमा लोपन्मुख काडेभ्याकुर समेत रहेको पशी सरक्षण समितीका जिल्ला प्रतिनिधी भरत पन्थीले जानकारी दिए । यहाँ थुप्रै प्रजातीका चराचुरुङ्गीहरुको वासस्थान रहेको छ पन्थीले भने‘सबैको संरक्षण हुन सकेमा जिल्लाको पर्यटन विकासले नै फड्को मार्न सक्छ । ’

त्यस्तै धार्मिक रूपमा हिन्दु धर्मका सबै तीर्थस्थलहरूबाट ल्याइएको पानी मिसाएर निर्माण गरिएको स्नान पोखरीमा स्नान गरेमा पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वासले पनि रेसुङ्गाको महत्त्व बढाएको छ । ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा जंगलमा रातो मृग, खरायो, चितुवा लगायतका जंगली जनावरहरू सजिलै देख्न पाइन्छन् । रेसुङ्गाको जंगलबाट दुई दर्जनभन्दा बढी खोलाहरू झरनाका रूपमा बग्ने गरेको दृश्यले पनि धेरैको मन जित्ने गरेको छ । धौलागिरी, अन्नपूर्ण, लगायतका हिमश्रृंखलाहरूले पनि यसको थप आर्कषण बढाएको छ ।

रेसुङ्गामा झण्डै ३ सयको संख्यामा रातो मृग रहेको अनुमान छ । यहाँ एक सयभन्दा बढी प्रजातिका रूखहरू रहेको जिल्ला वन कार्यालयले जनाएको छ । करिव ३४ सय हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रको उचाई समुद्र सतहवाट ८ सय मिटरदेखि २३ सय ३० मिटरसम्म फैलिएको छ । रेसुङ्गा क्षेत्रलाई धार्मिक तीर्थस्थल, ऐतिहासिक तपोभूमि, पर्यटकिय स्थल, जैविक विविधता जलस्रोतको भण्डार, मनोरञ्जन स्थल र मनमोहक दृश्यावलोकन गर्न सकिने एउटा वेग्लै मनोरम ठाउँको रुपमा लिन सकिन्छ । प्राचीनकालदेखि ऋषिमहर्षिले तपस्या गरेको यो स्थल धार्मिक पर्यटनको समेत उत्कृष्टस्थल भएको गुल्मीका पर्यटन व्यवसायी एवम् होटल व्यवसायी मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए ।

अत्यन्त मनोरम हिमाली तथा पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलको आवश्यक प्रचारप्रसारका साथै अत्यावश्यकीय पूर्वाधार विकास गर्नसकिए रेसुङ्गालाई स्वदेशी एवम् विदेशी पर्यटककको आकर्षक गन्तव्य बनाउन सकिने उनको भनाइ छ । समुद्री सतहबाट २,३४७.२ मिटरको उचाइमा रहेको रेसुङ्गाको चुचुरोमा प्राचीन सिद्धस्थान छ । यस स्थानमा साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल, वाग्लुङ्ग, प्युठान, कपिलवस्तु, नवलपरासी, दाङ्ग, लगायत भारतका विभिन्न स्थानहरुबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्दछन् । सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र सम्मुन्नति हुने जनविश्वास छ ।

रेसुङ्गा आसपासका क्षेत्रमा सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन भण्डारीले भने‘ यी स्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नसके मात्र पनि समग्र जिल्लाकै आर्थिक समृद्धिमा यी स्थानले विशिष्ट योगदान गर्न सक्छन् ।’ प्राचीनकालमा अयोध्याका राजा दशरथ र रामचन्द्रसँग यो कुवाको सम्बन्ध जोडिएको किंवदन्ति छ ।

किंवदन्तीअनुसार राजा दशरथका सन्तान नभएपछि रेसुङ्गामा तपस्या गर्दैआएका ऋङ्ग ऋषिलाई लगेर पुत्रेष्ठि यज्ञ गराए पछि राम लक्ष्मणको जन्म भएको थियो । भगवान् रामचन्द्रले ऋङ्ग ऋषि तपस्यारत रेसुङ्गा पुगी तपाईंका लागि एउटा कुनै काम गरिदिने इच्छा छ भन्दा ऋषिले पानीको अभाव भएको बताएसँगै बाणले हानेर कुवा खनिदिएका थिए । धार्मिक विश्वासमा आधारित उक्त कुवा हिउँदमा नसुक्ने र वर्षामा नबग्ने गरेको गर्दछ । त्यही कुवाको जलबाट यज्ञशालाको नियमित पूजाआजा हुने गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : ३५ बजे