१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शितगंगा ११ मा बिजुली बत्ति बल्यो, स्थानीयबासीमा छायो खुसीयाली


११ आश्विन २०७५ बिहिबार ००:००  

2
Shares

गणेश बेल्वासे ‘संगम’, अर्घाखाँची ।
शितगंगा नगरपालिकाको वडा नम्बर ११ स्थित दोबाटोमा बिष्णु परियार लगायतका केही अगुवाहरुले गाउँमा बिजुली बाल्ने पहल गर्दा धेरैले पत्याएका थिएनन् । उहाँहरुको विशेष पहलमा धेरै आलोचना झेलेर गाउँ झलमल उज्यालो बनाउने सपना साकार बनाए । शितगंगा कार्यपालिका सदस्य समेत रहेका विष्णु परियार गोकुलका अनुसार स्थानीयको निरन्तर प्रयासमा काम सम्पन्न गराइएको हो ।
‘दुर्गम गाउँमा बिजुली बल्ला भनेर पत्यार नै लागेको थिएन,’ स्थानीयबासीले भनिन्, ‘अब हामी पनि उज्यालोमा बस्न पाइने भयो । यसैमा खुसी लागेको छ ।’ विद्युतिकरण कार्य अन्तरगत लाइन विस्तारको सम्पुर्ण कार्य सम्पन्न भइसकेको छ । उज्यालो नेपाल अभियान कार्यक्रम संग सगै २०७३ सालमा सुरु भएको विद्युतिकरण कार्यमा विद्युत प्राधिकरण अर्घाखाँचीद्धारा पोल तथा ट्रान्सफर्मर, जिसस अर्घाखाँचीद्वारा पोल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको आर्थिक सहयोग, शितगंगा नगरपालिका र ११ नं. को वडा कार्यालय, स्थानीय उपभोक्ताहरुको आर्थिक तथा श्रमदानबाट काम सम्पन्न गरिएको परियारले बताउनुभयो । यसरी दोबाटो टोलमा बिजुली उद्घाटन हुने भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
यही असोज २० गते एक वृहत कार्यक्रमका बीच बिजुली बत्तिको उद्घाटन एवम् साँस्कृतिक कार्यक्रम हुने भएको हो । दोबाटा निवासी स्थानीय समुदायको आयोजनामा हुने कार्यक्रममा बिजुली बत्तिको उद्घाटन पूर्व उप प्रधानमन्त्री एवम् प्रतिनिधीसभाका सांसद टोप बहादुर रायमाझीले गर्ने कार्यक्रम रहेको वडा ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जानकारी दिनुभयो ।
साथै सोही कार्यक्रममा अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सांसद चन्द्रबहादुर खड्का (उज्जवल) प्रदेशसभा सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, विद्युत प्राविधिक बोर्ड सदस्य भक्त बहादुर (जलन) लगायत केन्द्रिय, स्थानिय जनप्रतिनिधी लगायत जिल्ला र स्थानीय स्तरका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहने बताइएको छ । उक्त उद्घाटन सहितको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरूको समेत बेजोड प्रस्तुती रहने बताईएको छ । उक्त कार्यक्रममा सहभागीताको लागि आयोजकले सबै नगर तथा वडाबासी जनसमूदायहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ५ : ०४ बजे