१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृष्णनगर भन्सार लक्ष्य अनुसार राजश्व उठाउन असफल



माधव बेल्वासे, कृष्णनगर ।
कृष्णनगर भन्सार कार्यालयमा तोकिएको भन्दा राजश्व उठ्न नसक्नु पुरानै रोग हो । यद्यपी वितेका दुई बर्ष भन्सार कार्यालयले तोकिएको लक्ष्य भन्दा बढी राजश्व उठाएर उदाहरणिय काम गरेको थियो । तर, यो आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व उठ्न सकेको छैन । वितेका दुई महिना साउन र भदौमा लक्ष्य अनुसारको राजश्व उठ्न नसकेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले बताउनुभयो ।
गत बर्षको अघिल्लो महिनाको राजश्व असुली अनुपातमा हेर्दा यस बर्षको सुरुवाती २ महिनाको राजश्व असुली बढि नै देखिए पनि बार्षिक लक्ष्य अनुसार राजश्व असुली कम भएको खड्काले बताउनुभयो ।
यस भन्सार नाकाबाट धेरै राजश्व असुल कच्चा पदार्थ क्लिंकरबाट हो । सिमेन्ट उद्योगहरुको कच्चा पदार्थ यो नाका हुदै घोराही सिमेन्ट सम्म विगतमा जाने गरेको थियो । अहिले घोराही सिमेन्टले आफ्नै क्लिङकर प्लान्टबाट क्लिङकर उत्पादन गर्न लागेकोले त्यो घटेको कार्यलयले जनाएको छ ।
क्लिङकर प्लान्टलाई अपग्रेड गरेर घोराही सिमेन्टले अन्य सिमेन्ट उद्योगलाई क्लिङकर पठाउन थाले पछि भारतबाट आयात हुने क्लिंकरमा कमि भएको भन्सार प्रमुख खड्काले वताउनुभयो ।
बार्षिक लक्ष्य पुरा गर्न अन्य आधारहरु पनि भएको प्रमुख खड्काले बताउनुभयो । भन्सारमा राजश्व असुली भएन भन्ने चिन्ता भन्दा पनि देश मै कच्चा पदार्थ उत्पादन सुरु भयो भन्नेमा हामी खुसी भएको प्रमुख खड्काको भनाई छ ।
कृष्णनगर भन्सार कार्यालयको बार्षिक राजश्व संकलन लक्ष्य संग भर्खरै ठूलो भन्सारको रुपमा संचालनमा आएको सुठौली भन्सार कार्यालय पनि जोडिएको छ । यस बर्ष सुठौली भन्सार कार्यालयलाई पहिलो बर्ष भएर १५ करोडको मात्रै लक्ष्य दिइएको प्रमुख खड्काले बताउनुभयो ।
कार्यालयले यो आर्थिक बर्ष ०७५÷०७६ मा आठ सय करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । आर्थिक बर्ष ०७४÷०७५ को लक्ष्य ४ सय १३ करोड राजश्व असुलीमा १५२ प्रतिशत बृद्धि भई ६ सय ३१ करोड राजश्व असुली भएको थियो । गत बर्ष संकलन भएको राजश्वमा थप ३३ प्रतिशतले बृद्धि गरी यस आर्थिक बर्षको लक्ष्य ८ सय ७ करोड रहेको भन्सार कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  १० : ४१ बजे