१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बृद्धालाई अपहरण गर्न खोज्ने दुईजना अपहरणकारी तौलिहवाबाट पक्राउ



कपिलवस्तु ।

बृद्धलाई अपहरण गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम तौलिहवा स्थित राष्ट्रिय बाणिज्य बैंक तौलिहवा शाखाबाट रकम झिकेर फर्कदै गरेका बाणगंगा नगरपालिका ९ भलवाडका ७१ वर्षीय कृष्णबहादुर थापालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

अपहरणमा संलग्न जिल्लाको शिवराज नगरपालिका ४ चनईका ४५ वर्षीय अमिन शाह र उनका सहयोगी सोही स्थानका २६ वर्षीय अब्दुल मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । छोरा अमर प्रहरी भएकाले पेन्सनको सुबिधा पाउदै आएका थापाले बैंकबाट २७ हजार रूपैयाँ झिकेर बाहिर निस्किएपछि अपहरणमा संलग्न दुबैले गन्तब्यबारे सोधेका थिए ।

आफू भलवाड फर्किने बताएपछि बृद्ध व्यक्ति भएकाले जितपुर सम्म र्पुयाइदिने भन्दै थापालाई अमिनले फकाएका थिए। थापाले मोटरसाइकलमा जितपुर नजाने भने पछि तौलिहवा बसपार्क सम्म र्पुयाइदिने भन्दै अमिनले थापालाई आफ्नो लु १२ प ५०५४ नम्बरको मोटरसाइकलमा बसालेका थिए । बसपार्क र्पुयाउनु पर्नेमा चौकबजार हुँदै गौढीचोक र्पुयाएपछि थापा अतालिए ।

मोटरसाइकलमा सवार बृद्ध अतालिएको देखिए पछि गौढीचौकमा डयुटीमा खटिएको प्रहरीले दिएको सूचनाका आधारमा सादा पोशाकका प्रहरीले दुई किलोमिटरको दूरी रहेको कपिलवस्तु नगरपालिका तीन महितासम्म सो मोटरसाइकलको पिछा गरेको थियो । प्रहरीले महितामा मोटरसाईकल रोकी सोधपुछ गर्दा बृद्ध थापालाई अमिनले अपहरण गर्न खोजेको खुल्न आएपछि तत्कालै प्रहरीको टोलीले मोटरसाइकल सहित अपहरणमा संलग्न फकिरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुबैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को अपहरण उद्योगको महलको मुद्दा चलाइने प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो । अस्ति अपरान्ह पक्राउ परेका दुबै अपहरणकारीलाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ३ : १२ बजे