२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

“म सफा गर्छु मेरो नगर” अभियानको पहिलो चरण सकियो, फेरियो पिपराको मुहार



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नं. २ पिपरामा जारी ‘म सफा गर्छु मेरो नगर’ अभियान अन्तर्रगत पहिलो चरणको काम सकिएको छ । यही सोमबार देखि वडाको कोठी खोलाबाट शुरु भएको अभियान पिपरा बजारमा आएर सकिएको हो । अभियानमा वडाबासीहरु सक्रिय रुपमा सहभागी भएको वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
बुधबार कोठी खोला देखि लखनचोक सम्म सफा गरिएको थियो । यस्तै विहीबार लखन चोक देखि पिपरा बजार सम्म सफाई गरिएको वडा अध्यक्ष पौडेलले बताउनुभयो । बुधबारको अभियानमा नव जागृती टोल विकास संस्था र राधा कृष्ण कलौनी टोल विकास संस्थाको सक्रिय सहभागीता रहेको उहाले बताउनुभयो ।
विहीबारको अभियानमा दक्षिण पिपरा टोल विकास संस्था र शान्ति टोल उत्तर पिपरा सहभागी भएको उहाले जानकारी दिनुभयो । सफाई पछि कपिलवस्तु रुपन्देही सीमानाको कोठी खोला देखि पिपरा सम्मको मुहार फेरिएको छ । महेन्द्र राजमार्गमा पर्ने उक्त स्थान वरपर झाडी र बुट्यानले दुर्घटनाको जोखिम समेत निम्त्याउने डर थियो तर सफाई अभियानले त्यो डरलाई अन्त्य गरेको छ ।
नगरको अभियान अन्तर्रगत अब अरु वडामा सञ्चालन हुने नगरका प्रबक्ता समेत रहनुभएका पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । वाणगंगालाई सफा, सुग्घर र हराभरा बनाउन यो आर्थिक बर्ष देखि म सफा गर्छु मेरो नगरको योजना संचालन भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १ : १५ बजे