१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बालश्रम उन्मुलनमा सरोकारवालाले गरे प्रतिवद्धता, मुख्यमन्त्री भन्छन्, संगठित बाध्यतात्मक श्रम छैन



मायादेवी अनलाइन, बुटवल ।
नेपाली श्रम बजारमा विदेशी मुलुकमा जस्तो बाध्यतात्मक श्रम नभएको सरोकारवालाहरुले बताएका छन् । उद्योग प्रतिष्ठानमा बाल मजदुरहरु रहेपनि त्यो संगठनात्मक रुपमा बाध्यकारी नभएको उनीहरुले बताएका हुन् ।
घरघरमा शिक्षा तथा आत्म निर्भर सामाजिक विकास संस्थाद्धारा संचालित बेटर ब्रिक नेपाल परियोजनाले बुटवलमा आयोजना गरेको बाध्यकारी तथा इच्छा विपरित श्रम उन्मुलन कार्यक्रममा बोल्दै वक्ताहरुले श्रम बजारमा रहेका केही समस्या भने समाधान गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाध्यकारी श्रमको अवस्था नेपालमा नरहे पनि श्रम क्षेत्रमा केही समस्या भने रहेको बताए । उनले रोजगारदाता, श्रमिक र राज्यबीच बलियो समझदारीको आवश्यकता रहेको बताए । समाजको पारिवारिक प्रणालीका कारण पनि परिवारका बुवा आमा जहाँ काम गर्दछन् बालबच्चा पनि त्यही रहने हुँदा त्यस्ता ठाउँमा आवासीय स्कुल संचालन गर्न सकिने विकल्प बताए ।
युरोपियन मुलुकहरुमा अहिले पनि दासत्व जस्ता बाध्यकारी श्रममा मानिसलाई लगाइएको छ, तर नेपालमा राणा शासन ताका बाहेक अरु बेला दासत्व जस्तो बाध्यकारी श्रम छैन, उनले भने । नेपालमा रहेको परम्परागत मजदुरी भने रहेको उनले बताए । कमलरी, हलिया प्रथाहरु परम्पारिक रहे पनि अहिले घट्दै गएको उनले बताए ।
नेपालमा रहेका इट्टा कारखाना लगायतमा केही बालमजदुर रहेपनि ती आर्थिक अभावका कारण पुगेको उनले बताए । श्रम बजारलाई व्यवस्थित गर्न संविधानले नै थुप्रै कानुन व्यवस्था गरेको भन्दै उनले बिदेशी संस्थाका नियमहरु अंगिकार आवश्यक गर्नै पर्ने बाध्यता नरहेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगमा रहेका कतिपय बालमजदुर हटाउन उद्योगीहरु सचेत हुनुपर्ने बताए । उद्योगीहरु इमान्दार हुने हो भने यस्तो समस्या आउदैन, उनले भने प्रदेश सरकारले पनि यस विषयमा ध्यान दिएर काम गर्छ ।’
कार्यक्रममा कपिलवस्तुका प्रदेश सांसद बिष्णु पन्थी, ग्लोबल फेयरनेश इनिसिएटिभका प्रमुख होमराज आचार्य, अन्तराष्ट्रिय श्रम संगठनका नारायण प्रसाद भट्टराई लगायतले मुलुकको अर्थतन्त्रको विकासमा उद्योग व्यवसायले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा जिएफआईका प्रमुख होमराज आचार्यले इटा उद्योगले २ लाख नेपालीलाई रोजगारी दिएको बताए । उनले खाडी मुलुकमा नेपाली गईरहेका बेला विदेशी युवाहरुलाई नेपाली इटा उद्योगका ल्याएर काम गराएर देखाउने योजना सुनाए ।
कार्यक्रममा इटा उद्योगमा रहेका वालमजदुरको शिक्षा तथा बालमजदुरी नै कसरी हटाउने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले बालमजदुर हटाउने विषयमा प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा रुपन्देही तथा कपिलवस्तुका इटा उद्योगी, जनप्रतिनिधि तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  ३ : ५९ बजे