१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओदारीमा पनि मिसन डेभलपमेन्ट बैंकको शाखा, सांसद पन्थीद्धारा उद्घाटन



मायादेवी अनलाइन, वाणगंगा ।
सामान्य नागरिकको पहुँचमा बैंकहरु पुग्नुपर्नेमा प्रदेश सांसद विष्णु पन्थीले जोड दिनुभएको छ । संघीयताको अनूभुति नागरिकले गर्न थालेको भन्दै अब बैंकहरुले पनि नागरिकलाई सक्दो सेवा दिनुपर्ने सांसद पन्थीले बताउनुभयो । देश आर्थिक समृद्धिको दिशामा अगाडी बढेको भन्दै उहाले बैंकहरुको यसमा महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
मिसन डेभलपमेन्ट बैंक ओदारी शाखाको शुक्रबार उद्घाटन गर्दै उहाले मिसन बैंक कपिलवस्तुका सबै नागरिक सामु पुग्नुपर्नेमा जोड दिनुभयो । वाणगंगामा मिसन बैंक विस्तार हुने क्रम बढेको भन्दै उहाले खुसी व्यक्त गर्नुभयो । नागरिकलाई बैंकिङ सेवाका लागि टाढा धाउनुपर्ने अवस्थाको अब अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले वाणगंगाका सबै कुना कुनामा बैंकको शाखा विस्तार हुनु राम्रो कुरा भएको बताउनुभयो । यसले नगरको विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपमेयर चक्रपाणि अर्यालले नागरिकहरुले कारोबार गर्दा बैंकबाट गर्नुपर्ने बताउनुभयो । बैंक आर्थिक बचतको भरपर्दो माध्यम भएको भन्दै वाणगंगाका हरेक ठाउँमा बैंकका शाखा खोल्नुपर्नेमा जोड दिनुभयो ।
बैंकका अध्यक्ष लिल बहादुर केसीले ओदारीमा मिसनको शाखा खुले संगै अब कपिलवस्तुमा ६ ओटा शाखा भएको बताउनुभयो । बुटबल केन्द्रिय कार्यालय रहेको मिसन बैंकले नागरिकलाई सक्दो सेवा दिने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैंकका सचिव विष्णु प्रसाद पोख्रेलको संचालनमा भएको कार्यक्रममा यस क्षेत्रका विभिन्न व्यक्तिले शुभकामना दिनुभएको थियो । बैंकका शाखा प्रदेश ५ मा १८ ओटा भैसकेको संचालक ऋषि पोख्रलले बताउनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १ : ३० बजे