८ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

खर्चमा देखासिकी होइन, मितव्ययी बनौँ



मायादेवी अनलाइन ।

तपाई बाटामा हिँड्दै गर्दा २ रुपैयाँ भेट्नु भयो भने के गर्नु हुन्छ ? पहिले त यो कसको रहेछ भनेर सोध्नुहुन्छ होला अनि पक्कै दिनु पनि हुन्छ होला ? ल त्यो पैसा कसैको भएन । अब तपाई के गर्नु हुन्छ ? तपाइले कि त घर लगेर भुड्कीमा राख्ने सोँच बनाउनु हुन्छ, कित ह्या यो २ रुपैयाँले के हुन्छ र भनेर फालेर हिँड्नुहुन्छ । यदि तपाईले २ रुपैयाँको नोट या ढ्याकलाई भुड्कीमा जम्मा गर्ने सोँच गराउनु भयो भने ठिक छ तपाईले पैसाको महत्व बुझ्नु भयो । यदि के हुन्छ र यो २ रुप्पेले भनेर फालिदिनु भयो भने याद गर्नुहोस् तपाईले पैसाको मुल्य बुझ्नु भएन । श्रमको मुल्य बुझनु भएन ।

भन्न खोजिएको कुरा के भने नेपालीहरुका घर आँगनमा महत्वपूर्ण चाड पर्वहरु आइसके । यतिबेला मानिसले फजुल खर्च गर्ने परम्परा छ । पैसा चाहे थोरै, चाहे धेरै होओस् । बराबर महत्व हुन्छ । थोरै या धेरै जति भए पनि त्योे परिश्रमद्धारा सिर्जित हुने भएकाले हामीले यो बिषयमा निकै सतर्कता अपनाउनु पर्ने हुन्छ ।

साउने संक्रान्ति देखि गाईजात्रा र तीजसम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने दशैँदेखि छठसम्म मनाउन पैसा र सामानको जोहो गर्न थालिसकेका छौं । केटाकेटी नयाँ लुगा र मीठो खानाको चर्चा स्कुलमा गर्न थालिसकेका छन् भने कर्मचारी बढेको तलब र दशैं खर्चले के के गर्ने भनेर हिसाब गर्न थालिसकेका छन् । हामीमध्ये कतिपय लामो बिदाको सदुपयोग गर्न यात्राको चाँजोपाँजो मिलाउन थालिसकेका छौं भने कतिपय घर शृंगार गर्न । ठूला चाडबाडको प्रतीक्षामा विदेशमा रहेका हजारौं नेपाली स्वदेश आउन यात्राको तयारी मात्रै हैन, टिकटसम्म काटेर बसेका छन् । यस अर्थमा पनि आगामी केही महिना पूरै समाजका लागि अत्यन्त महत्वपूर्ण छ ।

यो बेला मान्छेले पैसोको महत्व बुझेर सकि नसकि खर्च गर्ने र रवाफ देखाउने गर्दछन् । कतिपयले त घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने कुरालाई विर्सेर देखासिकी गर्ने गर्दछन् । हामीले यदि खर्चमा मितव्ययीता अपनाउन सकेनौँ भने तत्कालको लागि त ठिकै छ तर दीर्घकालको लागि त्योे घातक र भयानक हुन सक्छ । त्यसैले चाडबाडमा जतिसक्यो कम खर्च गर्ने बानी बसाल्नु पर्दछ र अरुको देखासिकी गर्नु हुँदैन ।

हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला । चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका ‘परिवार र पैसा’ नै हुन् । घरभित्रका लागि यी दुई तत्व महत्वपूर्ण भए पनि देश र समाजका लागि भने अन्य परिस्थितिजन्य कुराले पनि महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । हिन्दु–धर्मशास्त्रले चाडबाड र परम्परा देश, काल, परिस्थिति अनुसार मनाउनुपर्छ भनेर स्पष्ट भनेको छ तर अरुको देखासिकी गरेर वा ढोंग गरेर चाडबाड मनाउनु चाहिँ भनेको छैन ।

चाडबाड मनाउन खसी कोका काटेरै खानु पर्ने, जुवातास खेल्नै पर्ने, राम्रो कपडा लगाउनै पर्ने भन्ने छैन । हुने खानेलाई त ठिकै होला त्यो कुरा तर समाजमा भए खाने वर्ग पनि धेरै छन् । त्यस प्रवृत्तिले ती भए खाने वर्गलाई कस्तो असर गर्ला भन्ने कुरा हामीले ख्याल गर्नै पर्दछ । एउटा घरका मानिस मोजमस्ती र रमाइलो गरिरहँदा त्यसैको नजिक रहेको अर्को सामान्य परिवारको घर र परिवारका सदस्यलाई कस्तो असर पर्छ भनेर बुझ्न सकेनौँ भने पक्कै पनि त्यसले समाजमा वर्गिय द्धन्द्धको विजारोपण गराउँछ ।

यही देखासिकीका कारण दशैं वर्षभरमा सबैभन्दा धेरै रक्सी खपत हुने समय हुन पुगेको छ । अझ कर्पोरेट क्षेत्रमा त एक अर्कालाई पठाइने उपहारमा समेत रक्सी सबैभन्दा धेरै हुने गरेको छ । यो विकृतिको एउटा उदाहरण हो । यस्ता प्रवृत्तिलाई रोक्नै पर्छ । त्यसलै प्रशस्तै श्रीसम्पत्ति भए पनि हामीले सामान्य तरिकाले चाडबाड मनाउँदा यसले समाजमा राम्रो सन्देश प्रवाह हुन्छ ।

धार्मिक महत्वका चाडलाई पनि हामीले आर्थिक रूपमा हेरेर विकृति ल्याएका छौं । कसले कस्तो लुगा किन्यो, कत्रो खसी किन्यो र कति दक्षिणा दियो भनेर लेखाजोखा हुन थालेपछि अब के नै बाँकी रह्यो र ? दशैंको महत्व दक्षिणामा हैन आशीर्वादमा हो, खसीको तौलमा हैन देवीको पूजामा हो र महँगो लुगामा हैन चोखो लुगामा हो भन्ने सन्ततिलाई सिकाउन अब ढिला भइसकेको छ ।

अब हामी आफैँले चाडबाडका नाममा फजुल खर्च र मनाउने तरिकामा आएको विकृति कम गर्न नियन्त्रण गर्नुपर्छ । सामाजिक जीवनलाई सरलीकरण गर्ने दिशामा न सरकार न त कानुनले नै केही गर्न सक्छ । यो आफैँबाट हरेकले सुरु गर्नुपर्ने अभियान हो । यो काम हामी सबैको घरबाट सुरु हुनुपर्छ र महिलाको अग्रसरतामा हुनुपर्छ । परिवर्तनको अभियानमा जो सामेल हुन चाहँदैन, उसले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ  । त्यसैले चाडबाडमा मात्र नभएर अरु बेला पनि खर्चमा मितव्ययी बनौँ । माथि भनिए जस्तै एकएक रुपैयाँको महत्व बुझेर आर्थिक सवृद्धिको यात्रामा अघि बढौँ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : ४२ बजे