१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घटस्थापनाको दिन कपिलवस्तुका मठमन्दिरमा यसरी छायो रौनकता



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुधबार देखि नेपालीहरुको महान पर्व बडा दशै शुरु भएको छ । दशैंको पहिलो दिन बुधबार घरका पूजाकोठा तथा देवी मन्दिरमा देवी आह्वान गरी माता शैलपुत्रीको पूजा सुरु गरेर दशैलाई स्वागत गरिएको छ । बुधबार नै दशैं घरमा घटस्थापना गरी दशैंको टीकाका दिन लगाइने जमरा राखिएको छ । बुधबार आज बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना गर्न शुभ साइत परेको थियो ।
कपिलवस्तु लगायत देशभरका हिन्दु धर्मावलम्विहरुले बुधबार विहान घरघरमा जमरा राखेका छन । यस्तै नजिकका मठ मन्दिरमा पूजापाठ गरी जमरा राखिएको छ । घटस्थापनाको अवसरमा बुधबार कपिलवस्तुका विभिन्न शक्तिपिठहरुमा विहानै देखि भिडभाड देखिन्थ्यो । मन्दिर वरपर बाजागाजाले वातावरण गुञ्जयमान भएको थियो ।
यता श्री दुर्गा भवानी मन्दिर सिद्धिपुरमा पनि भब्य कार्यक्रमका बीच दुर्गाभवानीको मुर्ती स्थापना गरिएको छ । कार्यक्रम अघि शिवालय मन्दिर देखी सिद्धिपुर ईलाकाका शान्तीटोल, दरखास्त लगाएत ठाउँठाउँँमा बाजा सहित भब्य ¥याली निकालिएको थियो । कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्यता, मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष तिर्थ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको हो ।


कार्यक्रममा शिवमन्दिर सामुदायिक वनका अध्यक्ष यमलाल गिरी, सिद्धार्थ नगर विकास समितीका अध्यक्ष विष्णु थापा, श्रृङगीघाट सामुदायिक वनका अध्यक्ष रेनु सेन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा जेष्ठ नागरिक ८८ वर्षिय दुर्गा बहादुर रोकालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम मन्दिर ब्यवस्थापन समितीका सचिव कृष्ण बहादुर साहीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा २ सय बढिको सहभागिता रहेको थियो ।
यसैबीच वाणगंगा नगरपालिका १ जीतपुरमा वंगलामुखी दुर्गा माताको मूर्ति स्थापना तथा मन्दिर उद्घाटन गरिएको छ । जीतपुर टोल विकास संस्थाद्धारा निर्माण गरिएको दुर्गा मन्दिरको आज घटस्थापनाको दिन विधिवत उद्घाटन गरिएको हो ।
जीतपुर टोल विकास संस्था, स्थानीयबासी तथा भक्तजनहरुको सहभागीतामा बाजागाजा सहित निकालिएको शोभा कशल यात्रा पिपरा प्रकेटश्वर मन्दिरबाट शुरु भई बंगलामुखी मन्दिर प्राङ्गणमा आएर विधिवत मूर्ति स्थापना गरिएको थियो ।
बंगलामुखी दुर्गा माता मूर्तिको पुजा आरधना गरी विधिवत रुपमा स्थापना गरिएको जीतपुर टोल विकास संस्थाका अध्यक्ष मदन ढुंगानाले बताउनुभयो । मुर्ति स्थापना कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी, वडा अध्यक्ष बाल कुमारी पन्त, समाजसेवी शंकर पाण्डे, डोलकराम घिमिरे, वाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँण, मन्दिर निर्माण समितिका अध्यक्ष प्रेम बहादुर विक लगाएतको उपस्थिती रहेको थियो ।


सो अवसरमा मन्दिर निर्माणको क्रममा जिन्सी तथा नगद सहयोग प्रदान गर्नुहुने व्यक्तित्वलाई कदर पत्रले सम्मान गरिएको थियो । आजदेखि नवरात्र शुरु भएकाले दैनिक विहान साँझ नवदुर्गाको पूजा आरधाना गरिने अध्यक्ष ढुंगानाले बताउनुभयो ।
यस्तै आजकै दिन बोडगाउँ चोकमा पनि दुर्गा भगवतीका मुर्तीहरु स्थापना गरी पुजाआजा आरम्भ भएको छ । वडा अध्यक्ष गुणनिधि भुसाल लगायत वडा नं. ८ बासीको उपस्थितीमा बोडगाउँ चोक मै दुर्गा भगवतीका मूर्ती स्थापना गरी पूजाआजा गर्न लागिएको हो ।
यता वाणगंगाको कोइली बनगाई चोकमा पनि विगतमा झै दुर्गामाताको मूर्ती राखिएको छ । नवदुर्गाको पूजाआरधनाका लागि कोइली बनगाई आसपासका स्थानीयले हरेक बर्ष दुर्गाका मूर्ती राख्ने गरेका छन ।
यस्तै जिल्लाका मुख्य बजार चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर, तौलिहवा, महाराजगञ्ज लगायतका स्थानमा पनि दुर्गाका मूर्ती राखि पूजापाठको प्रारम्भ गरिएको छ । विशेषगरी मधेसी समुदायमा मठ मन्दीरमा भन्दा दुर्गाका मूर्ती स्थापना गरेका ठाउँमा नवदुर्गाको पूजाआरधाना गर्ने परम्परा रही आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  ३ : २१ बजे