१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बडा दशै : पछिल्लो समय पिङ हाल्ने चलन लोप हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
चाडपर्वमा गाँउ घरमा पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । कपिलवस्तुका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । दशै तिहारमा पिङ खेल्ले र रमाइलो गर्ने चलन थियो ।
हिजोआज भने आधुनिक जीवनशैली सँगै पिङ हाल्ने र खेल्ने संस्कृति विस्तारै हराउँदै गएका छन् । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको कारण पनि लोप हुदै गएको छ ।
पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । ‘पहिले पहिले टोल टोल र हरेक सार्वजनिक स्थानमा पिङ हाल्ने चलन थियो आज भोलि भने पिङमा भन्दा अन्य कुरामा युवा युवतिहरु रमाउने गरेका कोइलीबगाईका जीवन विष्टले बताउनुभयो ।
उहाका अनुसार विगतमा तीज तथा दशँैतिहारमा हाल्ने गरेका पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । पछिल्लो पुस्ताले त काठेपिङ देख्न समेत पाएका छैनन ।
पहाडका केही स्थानमा तिजको बेला कहि कतै पिङ हाले पनि दशँै र तिहामा भने पिङ राख्ने प्रचलन हराएको छ । विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा छ ।
जिल्लाका कहि कतै दुई चार स्थानमा लहरे पिङ हालेपनि काठेपिङ भने लोप भई सकेको छ । प्राप्त रुपमा बनमा काठकाटन नदिदा पनि काठेपिङ हाल्ने संस्कृति हराएको चारनम्बरका युवा सागर घिमिरेले बताउनुभयो ।
पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो । दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने जनशक्ति भने गाउँमा पाउन छोडिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १२ : ५० बजे