१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दशैं नजिकिए संगै भेडा च्याङ्ग्राको ब्यापार शुरु



शिवलाल सुवेदी, गुल्मी ।

नेपालीहरुको महान पर्व दशैं नजिकिदै गर्दा गुल्मीमा भेडा च्याङग्राको विक्रि वितरण शुरु भएको छ । दशैं पर्वमा देवी देवताहरुका मठ मन्दिरहरुमा भेडा च्याङग्राको वली चढउने प्रचलनलाई लक्षित गरी गुल्मीमा भेडा च्याङग्राको विक्रि वितरण केहि दिन देखि सुरु भएको छ ।

दशैं नजिक आउदै गर्दा गुल्मीमा आसपासका जिल्लावाट खसीवोका भित्रीन थालेका हुन । छिमेकी जिल्लाहरु अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, रुकुम लगायतका स्थानवाट कृषकहरुले विक्रीका लागि भेडा च्याङग्राका साथै खसीवोका गुल्मीमा ल्याउन थालेका छन् । हिन्दुहरुको महान पर्व दशैंमा देवी देवताहरुका मठ मन्दिरहरुमा भेडाच्याङग्रा संगै अत्यधिक मात्रामा खसीवोकाको वली चढाउने चलन भएकाले गुल्मीमा पनि भेडा च्याङग्रा  र खसीवोकाको अत्यधिक मात्रामा कारोवार हुने गर्दछ ।

खसीवोकाको कारोवार गरेर कतिपय परिवारले आफ्नो वर्ष भरिको गुजारा चलाउनुका साथै दशैं समेत मान्ने गरेका छन् । गत हप्ता दाङ्गको लमही नगरपालिका ५ विजौरीवाट भेडा विक्रिका लागि गुल्मीको सदरमुकाम तम्घास आएको बताउने वावुराम पाण्डेले यस बर्ष गुल्मीमा गत बर्ष भन्दा भेडा भित्रिनुका साथै बिक्रि वितरण हुने बताए ।

म १० बर्षदेखि लगातार यहाँ दशैको समयमा भेडा र वोका विक्रि गर्न आउने गरेको छु पाण्डेले भने‘अघिल्ला अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष धेरै भेडा विक्रि हुने लक्षण देखिएको छ ।’ उनका अनुसार आएको ५ दिन पुग्न नपाउदै १० भन्दा बढी भेडा विक्रि भैसकेको बताए । उनले विक्रि गर्न ल्याएका भेडाको ८ हजारदेखि १५ हजारसम्म पर्ने बताए ।

दाङ्गमा ५ सय ३५ रुपैया प्रतिकेजीमा खरिद गरेर गुल्मीमा प्रतिकेजी आफुले ७ सय ५० रुपैयाका दरले विक्रि गर्ने गरेको उनले बताए । गत बर्ष ५ हजारदेखि १३ हजारमा विक्रि भएका भेडा यस बर्ष भने मुल्य बृद्धि भएको उनले बताए ।

भेडा च्याङग्रा पाल्न धेरै दुख हुने तथा भेडा माग प्रत्येक बर्ष बढ्दै गएकाले हरेक बर्ष यसको मुल्य बृद्धि हुदै गएको सदरमुकाम तम्घासमा मुस्ताङ्गवाट आएका अर्का ब्यापारी कृष्ण गुरुङ्गले बताए । उनले मुस्ताङ सहित मुगु र केहि मात्रमा तिव्वतबाट समेत भेडा –च्याङग्रा खरिद गरेर यस बर्ष २ हजार बढी भेडा च्याङग्रा पोखरा, स्याङजा,पाल्पा,वुटवल र गुल्मीमा विक्रि वितरण गर्न हिडेको बताए । उनका अनुसार १० हजार देखि २५ हजार मुल्य बराबरमा भेडा च्याङग्राको विक्रि भएको छ ।

यस बर्ष भेडा च्याङग्रा ल्याउदा ठाँउ ठाँउमा कर तिर्नु पर्ने झनझट भयो उनले भने‘ अघिल्लो बर्षभन्दा केही महङ्गोमा भेडा च्याङग्रा विक्रि गरेका छौ ।’ उनका अनुसार ७ जनाले सामुयिक भेडा च्याङग्रा खरिद गरेर आफु गुल्मी आएको बताए । पोखरा क्षेत्रमा मात्रै दशैंको अवसरमा कम्तीमा पनि आफुहरुले बर्षेनी १ हजार बढी भेडा च्याङग्राको विक्रि गर्ने बताए । भेडा विक्रिका लागि दाङ्गवाट आएका अर्का ब्यापारीका महमद आजम कुरैसीका अनुसार दशैमा मात्र १ लाखभन्दा बढी आम्दानी भेडावाट हुने बताए ।

लामो समयदेखि गुल्मीमा दशैको वेला भेडा विक्रि गर्न आउछु उनले भने‘अघिल्लो बर्षभन्दा केही महङ्गोमा भेडा विक्रि भएकाले आम्दानी रामे हुने देखिएको छ ।’ उनले बर्षभरि नै भेडा लगायत खसीवोकाको कारोवारवाट बार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्ने बताए । उनीपनि ७ बर्षदेखि लगातार गुल्मीमा आउने गरेका छन । दाङ्गवाट मात्रै दशैमा गुल्मीमा ५ सयको हाराहारीमा भेडा आउने गर्दछन ।

यता गुल्मीका उपभोक्ताहरुलाई शहुलियतमा भेडा च्याङग्रा उपलब्ध गराउने उद्धेश्यले जिल्ला समन्वय समितीले कर नउठाउने भएको छ । नेपालीहरुको महान बर्पमा भेडा च्याङग्राहरु धेरै वाहिरी जिल्लावाट भित्रिन्छन जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले भने‘ भेडा च्याङग्रा ल्याउदाँ कही कतै कुनै कर उठाउने निर्णय भएको छैन र उठाइदैन ।’ उनले कसैले उठाएको पाएमा कारवाही समेत गर्ने बताए ।

जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी भेडा च्याङ्ग्रा र वोका खपत हुने गरेको छ । हिमाली भेगमा बहुमुल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले पनि भेडा च्याङ्ग्राको खपत बढेको ब्यापारीहरु बताउछन ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : ३३ बजे