१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वडादशैँको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै



मायादेवी अनलाइन ।

वडादशैँको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन ।
सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् । दशैँको छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजाआराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसरी दशैँका ९ दिनसम्म बिभिन्न देवीदेवतालाई पुजेर कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  १२ : ५० बजे