१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नुवाकोटमा सवारी साधनमाथि कडा निगरानी, १६ ठाउँमा जाँच



नुवाकोट ।

नुवाकोट प्रहरीले दशैंको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ। विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ। चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ। विदुर नगरपालिका–१० स्थित ढुङ्गे–बेत्रावती सडकखण्डमा बसेका प्रहरी प्रमुख कुँवरका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी दैनिक ५० भन्दा बढी रहेका छन्। ती सवारीलाई कारवाही गरी पछिल्लो समयमा दैनिक एकै स्थानबाट ५० हजार रुपैयाँको हाराहारीमा राजस्वसमेत सङ्कलन भएको छ। दशैं सुरु भएपछि दैनिक ३०० भन्दा बढी सवारी साधन कारवाहीको दायरामा आइसकेका छन्। ती सवारीबाट एक लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए। नुवाकोट प्रहरीले जिल्लाको फूलबारी, छहरे, ठूलोखोला, बागेश्वरी, बाउनबेँसी, सिक्रे, ढिकुरे, कोलनी, इन्द्रचोक, पिपलटार, रानीपौवा, कोल्पुटार, ढुङ्गे, ओखरपौवा, गुज्रेलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउन सचेतना कक्षा चलाउँदै आएको छ। जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन्। छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायलाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ। विशेष अभियानका रूपमा यो कार्य दशैं अवधिभर कायम रहने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ७ : ०२ बजे