१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गूर्जा हिमालमा बेपत्ता ९ जनाकै शव भेटियो



म्याग्दी ।
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१ गूर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकहरुको शव भेटिएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत आज बिहान खोजी गरी मृतक ९ जना पर्यटकहरुको शव सङ्कलन गरेर गूर्जा गाउँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
५ जना कोरियाली र ४ नेपालीसहित ९ जनामध्ये ८ जनाको शव काठमाडौं ल्याउने तयारी भैरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार एकजना स्थानीयको शव पोष्टमार्टमका लागि जिल्ला ल्याउने तयारी भैरहेको छ भने मृतक पर्यटकहरुको पहिचान खुल्न बाँकी नै रहेको छ ।
दक्ष जनशक्ति र उपकरण नहुँदा तथा समय अभावका कारणले गर्दा हिजो बेपत्ता पर्यटकको शव देखिए पनि उद्धार गर्न सकिएको थिएन । खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना मृतकको शव सङ्कलन गर्न समस्या भएको थियो । बेपत्ता भएकाहरुको खोजीका लागि गूर्जा गाउँबाट १६ जना स्थानीय शनिबार घटनास्थल पुगेका थिए । गूर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पाँच घण्टाको दुरीमा रहेको छ ।
२०७२ सालमा पनि दसैं तिहारको समयमा अचानक आएको हुदहुद नामक आँधीका कारण धौलागिरी आधारशिविर गएका पर्यटकले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ८ : ३१ बजे