५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आहा ! लौगाईको रानीपोखरी ! घुम्न आउने होइन ? (फोटो फिचर)



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ लौगाईमा उपत्यकामा रहेको रानीपोखरीको झल्को दिने गरी मन्दिर स्थापना भएको छ । बोडगाउँ बजार देखि झण्डै एक सय मिटर माथि रहेको पोखरीको बीचमा गशेण मन्दिर स्थापना गरिएको हो । त्यसले उपत्यकामा रहेको रानीपोखरीको झल्को दिएको यहाँ घुम्न आउने आन्तरिक पर्यटकहरु बताउँछन ।
वाणगंगाको लौगाई स्कुल नजिकै रहेको लौगाई पोखरीलाई पर्यटकीय हिसाबले नमुना बनाउन वडा नं. ८ को कार्यालयले पोखरीको स्तरोन्नती गरेको हो । अहिले पोखरीको वरीपरी रंगरोगन गरी रंगिचङ्गी बनाइएको छ । उपत्यकामा रहेको रानी पोखरीको झझल्को दिने गरी लौगाई पोखरीमा गणेश मन्दिर निर्माण गरिएको हो । स्थानीय जनताको ११ लाख र वडाको ४ लाख गरी १४ लाखमा पोखरी निर्माण भएपछि त्यहाँ आन्तरिक पर्यटक आउन थालेका छन् ।
सो पोखरीले झट्ट हेर्दा उपत्यकाको रानीपोखरीको झझल्को दिन्छ । सफा आकाश जस्तो निलो पोखरी, त्यसको बीच भागमा उठाइएको गणेश मन्दिरले अहिले सवैको मन तानिरहेको छ । पोखरीको स्तरोन्नति भए संगै अहिले त्यहाँ आन्तरिक पर्यटकको अवलोकनको लागि भीँड लाग्ने गरेको छ भने बिभिन्न नाटक, चलचित्र र म्यूजिक भीडियो छायांकन गर्ने काम पनि भइरहेको छ ।
वडा नं. ८ का वडाध्यक्ष गुणनिधी भुसालले वडालाई नमुना गराउने क्रममा अहिले पर्यटकीय स्थानहरुको पहिचान गरी स्तरोन्नती गर्ने काम भइरहेका बताउनुभयो । उहाँका अनुसार वडाको मधुवन पोखरी र मालिकामा पार्क विस्तार गर्ने काम पनि सुरु भइसकेकाले ती क्षेत्रमा पनि चाँडै आन्तरिक पर्यटनमा टेवा मिल्ने बताइएको छ । वडामा नगरमै सबैभन्दा बढी सडक संजाल भएकाले कतिपय स्थानमा भनेजस्तो काम गर्न नसकिएको उहाले बताउनुभयो ।
भूगोलको हिसाबले वडा नम्बर ८ नगरकै भलवाड पछिको दोश्रो ठुलो वडा भएकाले कतिपय स्थानमा गर्छु भन्दाभन्दै पनि बिभिन्न कारणले गर्न नसकिएको बताउँदै आफ्नो कार्यकालमा पुरै वडालाई नगरकै नमुना वडा बनाउने दृढता जाहेर गर्नुभयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  १२ : ५५ बजे