१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बडा दशैंको नवौं दिन महानवमी पर्व मनाईंदै, तलेजु मन्दिर खुल्ला



काठमाण्डौ ।
बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
महानवमीका दिन दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लागि चढाइने परम्परा छ ।
दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानपूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
हनुमानढोकामा भने आज विहानै राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ । महानवमीमा महालक्ष्मी देवीको पूजाआजा गरिन्छ ।
यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको पूजा गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।
महानवमीमा श्रीरामले रावणको बध गर्नका लागि शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको प्रसंग पनि छ ।
यता, काठमाडौंको हनुमानढोका दरबारमा रहेको तजेलु भवानीको मन्दिर आज खुलेको छ । यो मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने गर्दछ ।
मन्दिरमा पूजाआजा गर्न विहानैदेखि भक्तजनको घुँईचो लागेको छ । महानवमीको दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिर खुल्ला गरिएको हो ।
सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  १२ : २० बजे