४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मलमला मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै



बुटवल ।
रुपन्देही सैनामैना नगरपालिका–६ स्थित मलमला देवी मन्दिर धार्मिक पर्यटनका लागि प्रमुख आर्कषक गन्तव्यका रुपमा विकास हुन थालेको छ । मन्दिरमा पूजाअर्चना गर्न दिनप्रतिदिन भक्तजनको भीड बढ्दै गएपछि यसको व्यवस्थित विकास तथा विस्तारका लागि मलमला एकिकृत विकास कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष गुणाखर भट्टराइले जानकारी दिनुभयो ।
ऐतिहासिक तथा पुरातात्विक सो मन्दिरका लागि १० वर्षे कार्ययोजना निर्माण गरिएको र त्यसका लागि रु. तीन करोड ५० लाख बरावरको लागत अनुमान गरिएको छ । हामी मन्दिरलाई आर्कषक धार्मिक पर्यटनको रुपमा विकास गर्न चाहन्छौँ’ अध्यक्ष भट्टराइले भन्नुभयो । कार्ययोजनाअनुसार मन्दिर जानका लागि कालोपत्रे गरेको सडक, धर्मशाला, गणेश मन्दिर, चुरे पार्क, भ्यू टावर निर्माण, आदीवासी संग्रहालय निर्माणलगायतका काम सम्पन्न हुन लागेको पनि उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष भट्टराइले मन्दिरलाई कपिलवस्तुको तिलौराकोट र लुम्विनीसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य भएको उल्लेख गर्दै रुपन्देहीका अन्य विभिन्न मन्दिरलाई पनि धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
कार्ययोजनामा खानेपानी, शौचालय र फोहर व्यवस्थापनलाई पनि जोड दिइएको छ । करिव २०० वर्षअघि सो क्षेत्रमा जनावरले स्थानीयलाई धेरै सताएको र त्यसबाट बच्नका लागि तत्कालिन आदिवासी थारु समुदायले मलमलको (न्यानो) कपडामा चामल बाधेर त्यस ठाँउमा चढाउने गरेको र त्यसपछि ती जंगली जनावरको आक्रमण अन्त्य भएको र मलमलको नाम अप्रभंस भइ मलमलाको मन्दिरको रुपमा स्थापित भएको बताइएको छ ।
दुर्गा मन्दिरको रुपमा स्थापित भएको मलमला मन्दिरमा खास गरी दशैंमा भक्तजनको घुइँचो लाग्ने गर्छ । (रासस)

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  १२ : ३८ बजे