१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी



मायादेवी अनलाइन ।

मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी आज  विजयादशमी मनाइँदैछ।  दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो।  आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ। देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ। देवीभागवत पुराणअनुसार त्रेतायुगमा भगवान रामले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

पहिलेपहिले राजा महाराजाहरू दशमीका दिन देवीको प्रसाद लगाई विजययात्रामा निस्किने चलन रहेको बताइन्छ।  टीकाको साइत ९ः५१ मा भए कार्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म टिका लगाउन मिल्ने नेपाल पंचाग निर्णयक समितिले जनाएको छ ।

सो समय साइत खोज्नेका लागि समय दिइएको हो समितिका अध्यक्ष रामचन्द्र गौतमले भन्नु भयो–विजयादशमीको दिन आफैँमा साइत भएकाले दिनभर टीका लगाउन सकिन्छ। आश्विन शुक्ल पक्षका १० दिन नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दशैँ र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ। भारतीयले दशमीको दिन विसर्जन गरी घडा नदीमा सेलाउँछन्। नेपाली मूलका धेरैजसो हिन्दुहरूले भने पूर्णिमासम्म टीका प्रसाद लगाउँछन्। कोजाग्रत पूर्णिमाका दिन विसर्जन गर्छन्।् ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  ११ : ०७ बजे