१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपति र प्रधानमन्त्रीले कसरी लगाए टिका ?



मायादेवी अनलाइन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उहाँले टीका र जमरा ग्रहण गर्नुभएको हो । त्यसैगरी उहाँले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गर्नुभयो ।
त्यसअघि राष्ट्रपतिले हनुमानढोकामा रहेको दशै घरका मूल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो ।

राष्ट्रप्रमुखलाई दसैं घरका मूल पुजारीले दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाइदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।आफूले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाईंलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभयो ।

राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई टिका लगाइदिनु भएको थियो भने अहिले सर्वसाधारणलाई टीका लगाइदिँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीको टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गर्नुभएको छ । उहाँले बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको हो । पितासँग टीका लगाउनुअघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्नुभएको थियो ।

आफूले टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिनुभयो । ओलीले टीका ग्रहण पछि स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गर्नुभयो । प्रधानमन्त्री ओलीले बालुवाटार पुगेका पत्रकारहरुलाई पनि टीका र जमरा लगाई दक्षिणा दिनुभएको थियो । यस्तै सर्वसाधारणले पनि प्रधानमन्त्री ओलीबाट अहिले टिका र जमरा ग्रहण गरिरहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  ११ : १९ बजे