१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

चौबीसे राज्य भित्रीकोटमा पर्यटन प्रवद्र्धन



प्यूठान ।

एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक प्युठानको भित्रीकोट दरबार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । सरकारी लगानीबाट पर्यटकीय पूर्वाधारको विकास गर्न थालेसँगै पर्यटकको वृद्धि भएको छ ।

नेपालको इतिहासमा बाइसे र चौबीसे राज्यमा विभाजित नेपालका समयमा चौबीसे राज्यअन्तर्गतको शक्तिशाली मानिने भित्रीकोट राज्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको अब्बल सम्भावना बोकेको क्षेत्रका रुपमा परिचित छ ।

भित्रीकोटमा चन्द्रवंशी राजाले राज्य गरेको डा गितु गिरीले लेखेको ‘प्यूठान राज्यको इतिहास’ मा उल्लेख छ । तत्कालीन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपाल राज्यमा गाभेको थियो ।

युद्धबाट पराजित भएपछि तत्कालीन राजाका फौज भित्रीकोट छाडी रोल्पाको क्यूरीमा सुरक्षित ठाउँमा गएको इतिहास पाइन्छ ।

भित्रीकोटमा १४ राजाले राज्य गरेको बताइएको छ । भित्रीकोटका प्रथम राजा लटराज तथा १४ आँै राजा रुद्रप्रताप चन्दराज हुन् । विसं १७६० को ताम्रपत्रानुसार पृथ्वीपति नवौंँ पुस्ताका हुन् । उनीअघि आठ राजाले राज गरेको डा गिरीले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । भित्रीकोट पूर्वाधारमा केही सुधार भएपछि पर्यटकको रोजाइमा पर्न थालेको छ ।

तत्कालीन समयमा दरबारको सुरक्षाका लागि चारैतिर लगाइएको पर्खाल र झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ । दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, दरबारको नजीकै राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा छ ।

नेपाली सेनाले तत्कालीन हातहतियारको संरक्षण गर्नका लागि सानो भवन निर्माण गरिदिएको छ । संरक्षित घरटहरा बनेपछि हातहतियार सुरक्षित भएको स्थानीयवासी खगेश्वर थापाले बताउनुभयो । (रासस)

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  १ : २८ बजे