३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

प्रधानमन्त्री ओलीको भाइटीका कार्यक्रम



काठमाडौं ।

तिहारको भाइटीकाको दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम रहेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य यसवर्ष त्यति ठीक छैन ।

त्यसैले यसवर्ष सदाझैँ प्रधानमन्त्री ओलीले तिहारमा रमाइलो गर्न पाउने छैनन् तर भाइटीका भने लगाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यसवर्ष प्रधानमन्त्री ओलीले आफ्ना दुई बहिनीहरूसँग काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम रहेको छ ।

जेठी बहिनी विष्णुमाया ढकाल चितवनमा बस्दै आएकी छिन् भने माइली बहिनी कमलादेवी कोइराला काँकडभिट्टामा बस्दै आएकी छिन् । प्रधानमन्त्रीलाई भाइटीका लगाउनका निम्ति दुई बहिनीहरू बिहिबार नै काठमाडौं आइसकेका छन् ।

बिहान साढे ११ बजेको भाइटीकाको साइतमै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भाइटीका लगाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए। ओलीले केही वर्षदेखि एकजना दिदीसँग भाइटीका लगाउँदै आएका थिए तर केही वर्ष पहिले निधन भइसकेको छ ।

यसैबीच आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन् दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीवहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७५ शुक्रबार ००:००  १२ : ३२ बजे