२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

टोटनह्यामको उपाधि जित्ने महत्वकांक्षामा धक्का, उल्भरह्याम्टनको जित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ । उपाधि जित्ने प्रतिस्पर्धामा रहेको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले स्तब्ध बन्यो ।

टोटनह्यामले होम ग्राउण्डको रुपमा प्रयोग गर्दैै आएको विम्ब्ली स्टेडियममा भएको खेलमा ह्यारी केनले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा उल्भरह्याम्टनले तीन गोल गरेपछि टोटनह्यामको उपाधि जित्ने महत्वकांक्षामा धक्का लाग्न पुग्यो ।

२२औं मिनेटमा ह्यारी केनले घरेलु टिमलाई अग्रता दिलाएका थिए । सन ह्योङ मिनको पासमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको टोटनह्याम दोस्रो हाफमा उल्भ्ससँग निरिह बन्यो । ७२औं मिनेटमा हाओ मोउटिन्होको कर्नरमा विली बोलीले हेडर गोल गर्दै उल्भरह्याम्टनलाई खेलमा फर्काए ।

बराबरी गरेको १० मिनेटमा नै उल्भ्सले गोल थप्यो । यसपटक इभन काभालेरोको पासमा राउल जिमिनेजले गोल गरेका थिए । ८७औं मिनेटमा उल्भ्सले तेस्रो गोल र्गयो । डोट्रीले दिएको बललाई अफसाइट ट्र्याप विट गर्दै हेल्डर कोस्टाले वन भर्सेस वनमा गोल गरेका थिए । जीतसँगै उल्भरह्याम्टन २९ अंकका साथमा सातौं स्थानमा उक्लिएको छ । टोटनह्यामको ४५ अंक छ ।

प्रकाशित मिति : १५ पुस २०७५ आइतबार ००:००  २ : ४१ बजे