२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

आर्सनलमाथि लिभरपुलको शानदार जित



एजेन्सी ।

आर्सनलमाथि ५–१ को जित निकाल्दै लिभरपुलले प्रिमियर लिग तालिकामा ९ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टो फिरमिनो ह्याट्रिक गरे भने साडियो माने र मोहम्मद सलाहले एक–एक गोल गरे ।

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा एन्स्ले मेइटल्याण्ड नाइल्सले खेलको एघारौं मिनेटमा नै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर सो अग्रता तीन मिनेटभन्दा बढी टिकेन ।

१४औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा र्पुयाए ।  त्यसको ९० सेकेण्ड वित्न नपाउँदै फिरमिन्होले अर्को गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यस पटक उनले एक्लो प्रयासमा उत्कृष्ट गोल गरेका थिए । ३२औं मिनेटमा मोहम्मद सलाहको पासमा साडियो मानेले गोल गरेपछि लिभरपुलले ३–१ को अग्रता लियो ।

पहिलो हाफको इन्ज्युरी समयमा लिभरपुलले पेनाल्टी पायो । ग्रानिट जाकाले मोहम्द सलाहलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे । र, लिभरपुलले पहिलो हाफमा ४–१ को अग्रता लियो ।

दोस्रो हाफको सुरुमै लिभरपुलको दुईवटा राम्रो मौकामा आर्सनलका गोलकिपर बर्नड लेनो बाधक बने । लेनोले ४७औं मिनेटमा मानेको र ४८ औं मिनेटमा सलाहको प्रयास विफल बनाए ।

६५ औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । यो पेनाल्टीलाई भने रोबर्टो फिरमिनोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरे । बाँकी समयमा थप गोल हुन सकेन र लिभरपुलले आर्सनलमाथि शानदार जित निकाल्दै लिग तालिकामा बलियो स्थितीमा कायम बन्यो ।

जितसँगै लिभरपुलले ५४ अंक बनाएको छ । दोस्रो स्थानको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले पराजित भएपछि लिभरपुलको अग्रता ९ अंकमा लम्बिएको हो ।

प्रकाशित मिति : १५ पुस २०७५ आइतबार ००:००  २ : ४६ बजे