१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु



रुपन्देही ।

बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु गरिएको छ । एघार सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन शुरु भएको हो । लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिनुभयो ।

लुम्बिनीमा वृहत वृक्षरोपण (फलफूलका बिरुवा) अभियान शुरु भएकाले यहाँ हाल रहेका फलफूल तथा वनस्पतिको अवस्था, लुम्बिनीको माटोमा हुर्किन सक्ने फलफूल तथा रुख बिरुवाका साथै तीनको संरक्षणका उपाय वनस्पति विज्ञले पत्ता लगाउने छन् । लुम्बिनीमा अहिले १५० प्रजातिका वनस्पति पाइने वनस्पति शाखा अधिकृत सब्बिर खाँन बताउनुहुन्छ ।

हाल रहेका वनस्पतिको संरक्षण गर्दै थप कति प्रजातीका वनस्पति हुर्किन सक्छन् भन्ने विषयमा विज्ञहरुले अध्ययन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी चराचुरुङगीका लागि समेत उपयुक्त वासस्थान मानिन्छ । यहाँ सारस कोइली, भद्राई, रानीचरी, लगायतका २२२ प्रजातिका चरा पाइन्छन् । वनस्पति र जीवजन्तुलाई संरक्षण गर्नसकेमा मात्र जैविक विविधताको संरक्षण गर्न सकिने भएकाले तिनको संरक्षणमा ध्यान दिन आवश्यक रहेको वनस्पतिविद्हरू बताउँछन् ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ४ : १० बजे