११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

कन्चनमा दानापुर ताल महोत्सव हुँदै



विष्णु खत्री, सैनामैना । 

रुपन्देहीको कन्चन गाउँपालिका वडा नं १ मा १० औँ दानापुर ताल महोत्सव हुने भएको छ । “बन बन्यजन्तु, सिमसार तथा पर्यटकीय क्षेत्रको उत्थान राष्ट्रको निर्माण समृद्धि र पहिचान” भन्ने नारा सहित श्री समयमाई सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा १ हप्ते ताल महोत्सवको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

ताल महोत्सव यहि माघ १३ देखी १९ गते सम्म संचालन हुनेछ । महोत्सवमा मुख्य आर्कषणको रुपमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, ढुंगा रेस प्रतियोगिता, कन्चन डान्स आईडल, कृषि तथा व्यापार मेला, विभिन्न प्रजातिका चराहरुको अवलोकन लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिलाई लिइएको छ । महोत्सवमा ४० देखी ५० वटा सम्म स्टल रहने आयोजकले जनाएको छ ।

१ हप्ते ताल महोत्सवमा करिब २५ लाख बराबरको आर्थिक कारोबार तथा ४५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधरणका लागि ५० रुपैया टिकट तोकिएको छ भने विद्यार्थीलाई परिचय पत्रका आधारमा ३० रुपैया शुल्क लाग्नेछ ।

सो अवसरमा बोल्दै कन्चन गाउँपालिका वडा नं १ का वडाध्यक्ष हरिनारायण चौधरीले तालको विकास,प्रर्वद्धनका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यमा रहेको तालमा बृहत्तर विकाश गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरु ठुलो संख्यामा भित्रिने बताउँदै आर्थिक क्षेत्रमा समेत ठुलो टेवा पुग्ने बताउनुभयो ।

सम्मेलनका प्रमुख अतिथि समेत रहेका चौधरीले ताललाई पर्यावरणीय तालको रुपमा विकास गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको आरोप गलत रहेको जिकिर गर्नुभयो ।

रुपन्देहीकै ठुलो तथा पर्यटकीय सम्भावना बोकेको गजेडी दानापुर तालको प्रचार प्रसार एवं प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको समयमाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । ४३.६८ हेक्टरमा फैलिएको यस तालको विकासका लागी यस वर्ष प्रदेश सरकारले २ करोड बजेट बिनियोजन गरेको थापाको भनाई छ ।

पत्रकार सम्मेलन समयमाई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षता,कञ्चन गाउँपालिका वडा नं १ का वडाध्यक्ष हरिनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुहका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद घर्ति मगरको स्वागत तथा संचारकर्मी सुरज थापा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : ४१ बजे