५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

कर्मचारी समायोजनको म्याद आज सकिदै



काठमाडौं ।
समायोजन हुन चाहाने कर्मचारीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको २१ दिने समय आज सकिँदैछ । त्यसको अघिल्लो दिन हिजोसम्म संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान ६० हजार कर्मचारीले अनलाइनबाट फारम भरेका छन् ।
हिजो मध्यान्हसम्म ६० हजार पाँच सय ९६ जना कर्मचारीले समायोजन फारम भरिसकेका मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले ७३ हजार तीन सय ९१ कर्मचारीले तथ्यांक भेरिफाइ गरिसकेको जानकारी दिनुभयो ।
‘७३ हजारले तथ्यांक भेरिफाइ गरेका छन् । ६० हजारले तथ्यांक पोस्ट नै गरिसके,’ पनेरुले भन्नुभयो, ‘१२ हजार सात सय ९७ कर्मचारीले आजसम्म तथ्यांक पोस्ट गर्नुहोला ।’
आवेदन दिने समय थप गर्न कर्मचारी संघ संगठनले माग गरे पनि समयसीमा थप्ने संभावना नरहेको पनेरुले जानकारी दिनुभयो । अहिलेसम्म ४० हजार आठ सय ४५ कर्मचारीले आफू केन्द्रमा नै समायोजन हुन चाहेको आवेदन दिएका छन् । प्रदेश अन्तर्गत जान ५१ हजार एक सय ८३ कर्मचारी इच्छुक देखिएका छन् भने स्थानीय तहमा दुई लाख ९२ हजार नौ ७८ संख्या पुगेको छ ।
भोली विहिबारदेखि समायोजनको प्रक्रिया सुरू हुने उहाँले बताउनुभयो । उहाँका अनुसार पहिले ‘पहिले सचिवहरूलाई समायोजन गरिने बताइएको छ । त्यसको लागि पहिले सचिवलाई समायोजन भएको चिठी दिने र ‘त्यसपछि सहसचिवलाई खटाउने तयारी भएको जनाइएको छ ।

उपसचिवदेखि तलका कर्मचारीलाई सकेसम्म उनीहरू खटिएर जान चाहेकै ठाउँमा समायोजन गर्ने तयारी छ । सेवा समूह सञ्चालन गर्ने मन्त्रालयले पनि कर्मचारी समायोजन गर्छन् । परराष्ट्र, न्याय सेवालगायतमा सचिवले नै त्यहाँका कर्मचारी समायोजन गराउँछन् ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ११ : ३० बजे