१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पर्वत बस दुर्घटना अपडेट : मृतक ६ को सनाखत, ३० घाइते



बागलुङ ।
पर्वतको मालढुंगामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। बिहीवार बिहान म्याग्दीको बेनीबाट नारायणगढका लागि छुटेको यात्रुबस सडकदेखि कालीगण्डकी नदीमा खस्दा अन्य ३० जना घाइते भए। ग १ ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका १ मालढुंगामा सडकदेखि करीब १०० मिटर तल नदीमा खसेको हो।
घटनास्थलमै ३ को मृत्यु भएकोमा थप ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेको बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पोखरा र काठमाडौं पठाइएको छ। गम्भीर घाइतेलाई नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लागिएको बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।
मृत्यु हुनेमा पर्वतको जलजला ८ नाङलीबाङका टिके परियार र उनकी श्रीमती सेती परियार, बागलुङ नगरपालिका ४ की शान्ती महत के.सी, म्याग्दीको पाखापानीका राजेश पुन र अमिसरा पुन र पर्वतको धाइरिङका जीवन बिक रहेका छन्। अर्का एकजनाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ।
तीव्र गतिले बस चलेकोले दुर्घटना भएको प्रहरीको भनाई छ। घटनामा चालक तीलक पराजुली पनि घाइते भएका छन्। घटनापछि सबै घाइतेलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पतालमा उपचार गर्ने ठाउँ अभाव भएर भुइमै राखेर उपचार गरिएको थियो। उद्दारका लागि बागलुङ, पर्वत र म्याग्दीका प्रहरीटोली घटनास्थलमा पुगेका थिए।
अस्पतालमा मृतक र घाइतेका आफन्तसहित स्थानीय भीड लागेपछि उपचारमा समेत समस्या भएको थियो। प्रहरीले भीड नियन्त्रण गरेर अस्पताल बाहिर पठाएपछि मात्र उनीहरूको उपचार सम्भव भएको हो। घाइतेलाई पोखरा पठाउने क्रममा दुवै जिल्लामा उपलब्ध भएका एम्बुलेन्स, सेना र प्रहरीका गाडी तथा स्थानीय व्यवसायीले समेत सवारी साधन दिएर सहयोग गरेका थिए।
घटनास्थलमा खसेको बस निकै पुरानो छ। घटनामा बस क्षतविक्षत भएको छ। बसले छेउका सुरक्षाका लागि राखिएका धेरै पोल ढलाएपछि सडकबाट खसेको देखिन्छ। उक्त प्रकृति हेर्दा बस तीव्र गतिमा भएको पाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  १० : १५ बजे