३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

पहाडी क्षेत्र सुन्तला जातका फलफूल जोन



नवलपरासी ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको व्यावसायीकरण गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल–जोनका रुपमा विकास गर्न परियोजना शुरु भएको हो ।
सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, लैजाने उद्देश्यले परियोजना शुरु भएको परियोजना कार्यान्वयन एकाई सुन्तला जात फलफूल–जोन पूर्वी नवलपरासीका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका–४, ५ र ६, देवचुली नगरपालिका–६ र गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ गरेर करीब ५०० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम शुरु गरिएको हो । चालू आवका लागि एक करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको कार्यक्रम हुँदैछ । कार्यक्रममार्फत सुन्तला जातको बिरुवामा ५०, सिँचाइका लागि ८५, कृषि औजारका लागि ५० र सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरिने बताइएको छ ।
यस्तै सुन्तलाको गुणस्तरीय बिरुवाको अभावमा उत्पादनमा कमी आएकाले आगामी आर्थिक वर्षमा २० हजार बिरुवा उत्पादन गर्ने गरी नर्सरी निर्माण गर्ने योजना रहेको छ । ‘रिसोर्स सेन्टर’ का रुपमा नर्सरीको विकास गरी उत्पादन बढाउने लक्ष्य रहेको वरिष्ठ कृषि अधिकृत शर्माले बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  २ : ५६ बजे