८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

यात्रुले झगडा गर्दा हवाइजहाजको इमर्जेन्सी ल्याण्डिङ



एजेन्सी ।
अष्ट्रेलियाका रिको डेभिड आफ्नो विवाहको उत्सव मनाउनको लागि सिङ्गापुर जाँदै थिए । तर आफ्नै हर्कतका कारण उनी सिङ्गापुर जान नपाएर सिड्नी फिर्ता हुन पुगे ।
गोल्डकोस्टबाट सिङ्गापुरको लागि उडेको ‘स्कूट फ्लाइट टीआर ७’ नामको प्लेनमा उनीसँगै अन्य सयौँ यात्रुहरु थिए । रिको एकाएक उत्तेजित भएर प्लेनमा बसेका यात्रुहरुसँग झगडा गर्न थाले । उनले अन्य यात्रुहरुमाथि मुक्कासमेत प्रहार गरे । जहाजभित्र हुलदंगा मच्चियो । त्यहाँ बसेका अन्य यात्रुहरुले उनलाई नियन्त्रण गर्न खोजेका थिए ।
त्यति गर्दा पनि उनलाई नियन्त्रण गर्न मस्किल हुन थालेपछि बाध्य भएर पाइलटले प्लेनलाई सिड्नीमा इमर्जेन्सी ल्याण्डिङ गर्नुपरेको थियो ।
प्लेनमा बसेको केही समयपछि उनी यात्रुहरुसँग भड्किन थालेका थिए । यसक्रममा उनले लगाएका कपडासमेत च्यातिएका थिए, तर पनि उनी नियन्त्रणमा आउन सकेका थिएनन् ।
स्कूट जहाजकी प्रवक्ताले भनेकी छिन्, ‘एउटा असभ्य यात्रुका कारण फ्लाइट फिर्ता गर्नुपरेको छ,’उनले अगाडि भनिन्, ‘फ्लाइट सुरु हुँदा कुनै समस्या थिएन तर जब फ्लाइट सुरु भयो ती व्यक्तिले छेउछाउमा बसेका अन्य यात्रुहरुलाई डिस्टर्व गर्न थाले र जहाजभित्र हुलदंगा मच्चियो ।’
उनी यतिसम्म आक्रोशित भएका थिए कि, जहाजभित्रका अरु यात्रुहरुले नियन्त्रण गर्न लाग्दा पनि सकेका थिएनन् । छुट्याउन खोज्नेहरुलाई पनि चोटपटक लागेको प्रवक्ताले बताएकी छिन् ।
प्लेनलाई सिड्नीमा अवतरण गराएपछि उनलाई त्यहाँका प्रहरीको जिम्मामा लगाइएको थियो । त्यसपछि उनलाई मेडिकल जाँचको लागि सिड्नीको सेन्ट जर्ज अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ८ : ३६ बजे