१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना,पाँचजना घाइते



भक्तपुर ।
बिरामी बोकेर आएको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शुक्रबार राति सूर्यविनायक नगरपालिका १० साँगा मुसे गणेश मन्दिर नजिक सिराहा लाहानबाट सवारी दुर्घटनाको घाइते बोकेर काठमाण्डौतर्फ आँउदै गरेको ज १च १४९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो ।यादव सेवा समाजले सञ्चालन गरेको एम्बुलेन्स सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा बिरामी धनुषा जिल्ला ढल्केबरका ७१ वर्षीय झलकबहादुर खड्कासहित अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको न्युरो अस्पताल बाँसबारीमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।
एम्बुलेन्स चालक दोलखा सिँगटी घर भई काठमाण्डौको कपन बस्दै आएका २५ वर्षीय सन्तोष तामाङको मध्यपुर अस्पताल थिमीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
अन्य घाइते हुनेमा सर्लाही लालबन्दी न।पा। १४ का २१ वर्षीय को बीरबहादुर लुङ्गेली, उदयपुर कटारी बस्ने ३५ को मोहनबहादुर न्यौपाने , धनुषा ढल्केबरकै ३७ वर्षकी घनकुमारी खड्का र ७१ वर्षीय बाटुला खड्काको न्युरो अस्पताल बाँसवारीमा थप उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ६ : ४१ बजे