५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टिप्परको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले जलाए टिप्पर



मोरङ ।
सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सोमबार बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।
तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिनुभयो ।
दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् । दुर्घटना लगत्तै विराटचोक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरेका छन् ।
स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथिसमेत ढुंगा प्रहार गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ६ : ३१ बजे