४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बालिकाको मृत्युपछि मोरङ तनाबग्रस्त



इटहरी ।
सुन्दरहरैचा नगरपालिका मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको छ। बिहान ८ः ३० बजे पसलमा सामान किन्न निस्किएकी उनको ना३ख ३३५५ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।

बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले घटनास्थलमै ७ वटा टिपर जलाएका छन् भने घटनास्थल भन्दा २ किलोमीटर पूर्वमा पर्ने शुक्रबारे बजारमा थप ५ वटा गरी जम्मा १२ वटा टिपर स्थानीयले जलाएको मोरङ प्रहरी प्रमुख अरुण कुमार बिसीले जानकारी दिए।
उनका अनुसार आक्रोशित स्थानीयको भिड व्यवस्थापन गर्न २ सयको संख्यामा नेपाल प्रहरी र त्यही संख्यामा शसस्त्र प्रहरी परिचालन गरिएको छ। तर, स्थिति थप तनावग्रस्त बन्दै गएको उनको भनाइ छ। प्रहरीले बिराट चोक क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषणा गरेपनि स्थानीयले आन्दोलन जारी राखेका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले ९ बजे देखि ११ बजेसम्म टिपर निषेध गरे पनि त्यसको कार्यान्वयन भएको पाइँदैन।
तर, टिपर चलाउन निषेध गरिए पनि तीब्र गतिमा चलाउँदा नै बढी दुर्घटना हुने गरेको स्थानीय बुद्धिराम ढकालको बुझाइ छ। उनका अनुसार सो क्षेत्रमा दैनिक दर्जनौं टिपर गुड्ने भएकोले सधै त्रासपूर्ण अवस्था रहन्छ। दुई वर्ष अगाडिमात्र सोही स्थानमा एक बालकको टिपरकै ठक्करबाट मृत्यु भएको उनको भनाइ छ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालका लागि भन्दै विराट चोकदेखि दक्षिण वेलेपुर, उत्तर सुकुना क्याम्पस, पश्चिम बुधबारे पूर्वको भागमा निशेधाज्ञा जारी गरेको हो।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ८ : ५३ बजे