१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीमा लगातार हिमपात (फोटो फिचर)



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीका उच्च भूभागमा लगातार बाक्लो हिमपात भएको छ । लगातारको हिमपातले गुल्मीको जनजीवन प्रभावित बनेको छ । शनिवारदेखि जिल्लाका उच्च भुभागमा वाक्लो हिमपात भइरहेको छ । हिमपातले जिल्लाको रेसुङ्गा लगायत मदाने गाउँपालिकाको मदानेलेख, कङ्केदेउराली, सैरे, मालिका गाउँपालिकाको मालिकालेक, अर्खवाङ्ग, चन्द्रकोट गाउँपालिकाको दिवु्रङलेक, टिमुरे क्षेत्र, ग्वाघा, सत्यवती गाउँपालिकाको भार्सेको लेक, ठुलोलुम्पेक, मुसिकोट नगरपालिकाको थाप्लेको लेख, कुर्घा, अलाङकोट लगायतका क्षेत्रहरु सेताम्ये भएका छन ।
भदौदेखि पानी नपरेका कारण दुखीत भएका किसानहरु वर्षासगै हिमपात हुँदा रमाएपनि वृद्धवृद्धा, बालबालिकाहरुलाई भने सास्ती भएको छ । चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन् । लामो समयको खडेरीपछि पानीसँगै हिउ परेपछि कृषकहरू खुशी भएका छन् । समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्ती र डाडाँहरुमा हिमपात भएको कृषि ज्ञान केन्द्र गुल्मीले जानकारी दिएको छ ।


यता माथिल्लो भागमा हिमपात भएकाले तल्लो भागहरुमा समेत चिसो बढेको छ । वर्षासँगै रेसुङ्गा क्षेत्रमा भारी हिमपात परेकाले सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको स्थानीयवासी सुमित्रा पुनले बताईन ।
तम्घास लगायतका वस्तीमा बिहान शीत जमेर बाहिर निस्किनै नसक्ने अवस्था भएको छ पुनले भनिन“ अहिले चिसो भएन भन्ने वेलामा अत्यधिक चिसोले हैरान पा¥यो ।” ६ महीनायता पहिलोपटक वर्षासगै हिमपात भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरी लगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको भन्दै किसानहरु खुसी भएका हुन ।
शनिवारदेखि अत्यधिक बढेको चिसोका कारण अस्पताल तथा स्वास्थ्य सस्थाहरुमा चिसोका बिरामी बढेका छन् । चिसो बढेपछि शनिवार यता मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको जिल्ला अस्पताल तम्घासले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ४ : ३२ बजे