२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

संबिधानमा शहीदको गाथा छ तर नेतृत्वले खिल्ली उडायो



गुणादेबी पन्थी ।
हाम्रो संबिधानको प्रास्तावनामा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, शुसाशन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संबिधान सभाबाट पारित गरी यो संबिधान जारी गर्दछौं ।” उल्लेख छ ।
हाम्रो संबिधानको जगमा व्यस्थापिका, कार्यपालिका र न्यायपालिका एक अर्कामा निहीत छन् । चौथो अंग अर्थात संचारजगतको निभर्यता अर्काे सुन्दर पक्ष हो । उल्लेखित चारै अंग आ–आफ्नो मर्यादामा रहेर जिम्मेवारी र भुमिका निर्वाह गर्न सक्रिय छन् ।
संबिधानले शक्ति पृथकीकरणको सिद्धान्त अपनाएको छ । अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार लगायतका अधिकारको ग्यारेण्टीले लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाएको छ । मुलुकको शासन व्यवस्थामा राजा वा रजौटाको हुकुम वा अहंकारको सर्वाेपरिता छैन् । अपितु नेपाल उक्त तंत्रद्धारा संचालित छ, जसका नायक नागरिक हुन्, सबैले बुझ्न आवश्यक छ ।
नेपालको संबिधान ३ असोज २०७२ जारी भएपछि देश पूर्णत संघीय लोकतन्त्र सहितको गाणतान्त्रिक युगमा अवतरित भएको छ । अन्तरिम (०६३ साल) व्यवस्थापिकबाट नै नेपाल गणतान्त्रिक युगमा प्रवेश गरेको हो । बैधानिक आधार ०७२ असोज ३ गतेबाट प्राप्त भएको हो । गणतान्त्रिक युगमा प्रवेश संगैदेशले विभिन्न आरोह–अवरोह पार गर्दैआएको छ । यस अवधीमा मुलुकमा दुईवटा संबिधानसभाका निर्वाचन सम्पन्न भए । अनिमात्र हामी संबिधान प्राप्त गर्न सफल भयौं ।
संघीयताको कार्यन्वयनका लागि स्थानीय निर्वाचन र तेस्रो आम निर्वाचन पनि समपन्न भैसकेको छ । निर्वाचनको सम्पन्नता संगै हामी संघीयताको कार्यन्वयनमा छौं । प्रदेश प्रमुख र संघीय सरकार प्रमुख चयन त्यसैको परिणाम हो ।
हामी नेपाली एकल समग्रताबाट बहुआयामिक संघीय शासन व्यवस्थामा उन्मुख छौं । अभ्यास पछि मात्र उक्त व्यवस्थाका सवल र दुर्वल पक्ष अंगाल्न सक्ने छौं । शक्ति साम्राज्य दुई ठुला राष्ट्रका बिचमा अवस्थित नेपालका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास नितान्त नविन हो । उनीहरुका लागि पुरानो भएपनि ।
किनकी हामी बाइसी, चौविसी राज्यको पृष्ठभुमी संगै सार्वभौम एकल अधिराज्यको समग्रतालाई अभ्यास गरेर हुर्किएका हौं । ०४६ सालको प्रजातन्त्र पश्चात करिब ३ दशकको अवधीमा देशले विभिन्न उतार चढाव बेहोर्दैं वर्तमानमा आइपुगेको हो । यदी यो व्यवस्थामा पनि हामी संयम,परिपक्क र विवेकशील भएनौं भने हाम्रो स्वाभिमान सुरक्षित छैन् ।
व्यवस्थाको जगमा दलहरु छन् । दलका सारथि नेता हुन् । नेतृत्वको परिपक्कता र दुरदर्शिताले मात्र शासन व्यवस्था परिपक्क हुनेछ । यदी नेतृत्वले परिपक्कता र दुरदर्शिता अपनाएन भने मुलुक कैं भविष्यमा अनिश्चितता छाउनेछ । अनिश्चितताले जनताको आशा निराशामा परिणत गर्नेछ । त्यसैले जनतामा निराशा आउन नदिन नेतृत्व सचेत रहन आवश्यक छ । त्यसरी नैं प्रम देउवाले खल्तीका मानिसलाई निर्वाचनमा उम्मेद्धवार बनाएर पार्टीलाई पाँच बर्षलाई खुम्चाईदिए । कांग्रेसका पुरानो पुस्ताले त उनको कार्यकुशलतालाई सुर्वणको आर्जनमा जुद्ध परिवारको रजाई भनेको पनि सुनियो । नेतृत्वको त्यस्तो चरित्रले के देखाउँछ, नेतृत्वमा अझै रजौटा प्रवृती कायम छ । नेतृत्वको कार्यशैलीमा लोकतान्त्रिक नभएको देखिन्छ ।

एक अर्कालाई कमजोर गराउने खेलको संर्किणताको अभ्यासले अहिले पनि लोकतन्त्रको मर्ममा प्रहार भैरहेको छ । त्यसले अन्तगोत्वा संबिधानलाई पनि प्रहार गरिरहेको छ । शहीद दिवसको सप्ताह मनाईरहदा सरकारका कतिपय व्यवहार र निणर्य लोकतन्त्रलाई नैं धक्का लगाउन उद्दत देखिन्छन् । त्यसैले त्यस्ता पक्षका वारेमा पक्ष वा प्रतिपक्षको नेतृत्व विबेकी बन्न आवश्यक छ । नेतृत्वको जुँगाको लडाइले लोकतन्त्रलाई मात्र नभएर शहीदको सपनालाई समेत आघात गरिरहेको छ बाच्नेहरुले खै त मर्नेहरुको आर्दश र भावनाको सम्मान गरेको ? मर्नेहरुका परिवारमा देशको मुहार झल्किन्छ । अझै पनि परिवर्तनले मर्नेहरुको चित्कारमा मल्हम लगाउन सकिरहेको छैन् । लोकतन्त्रआखिर चरित्र, व्यहार र आचरणमा निहीत व्यवस्था हो ।
लोकतन्त्रमा आफुलाइ सर्वेसर्वा ठान्नु महाभुल हो । भलै विचारक किन नहोस ?उक्त विचारलाइपनि प्रमाणिकताको आवश्यक पर्दछ । प्रमाणिकता तव मात्र हुनेछ । व्यवस्था वा संगठनको ईकाइले जव अनुमोदन गर्छ । लोकतन्त्ररुपी सागरमा व्यक्ति, संगठक वा शासकले बर्साउने ढुंगाले कतिपय अवस्थामा अस्वभाविक तरंग पैदा गर्छ । सागरको उक्त तरंगले स्वयंम आफैसंग सवाल गरिरहेका हुन्छ । तिमी को हौं ?मर्यादापालक वा शासक ?
जवसम्म मर्यादापालकले लोकतन्त्रसंग आँखामा आँखा जुधाउन सक्दैन तवसम्म उ स्वय“म त्यो व्यवस्थाको नायक हुन सक्दैन् । उक्त वास्तविकता महशुस गर्न नसक्दा कहिलेकाही मर्यादापालक आफुलाई शासक भएको ठान्न पुग्दछ । त्यस्तो अहंमकारले व्यवस्थालाईनै अद्योगति तर्फ लैजाने खतरा रहन्छ ।
लोकतान्त्रिक व्यवस्थाका पक्षपातीबाट स्वतन्त्रताको उपयोग गरिहदा स्वच्छन्दतालाई ध्यान दिन आवश्यक हुन्छ । महात्मा गान्धीले भनेका छन् ‘लोकतन्त्रमा स्वतन्त्रता अधिकार हो भने, स्वच्छन्दता अराजकताको संकेत हो ।’
स्वतन्त्रता र स्वच्छन्दता बिच कसी लगाउने काम मिडियाको हो । व्यवस्थापिका, कार्यपालिका र न्यापालिकालाई सवक सिकाउने नैतिक बल मिडियाले कायम राख्न सक्नुपर्छ । तर नैतिक बल क्षीण भए व्यवस्था माथि नैं संकट आउन सक्छ । संबिधानले त्यसैले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको हो ।
जव एक व्यक्तिको सोच एकाएक समुह, पार्टी अनि संगठन बन्न सक्छ । त्यसले न्यायका पक्षमा वकालत गर्नु जायज हुन्छ । जस्तैं –वीपी कोईराला र पुष्पलालले स्थापना गरेको संगठन । ती संगठनले गरेका क्रन्ति वा आन्दोलन नै वर्तमानका पृष्ठपोषक हुन् । साथै वर्तमान शहीद प्रति कृतघ्न छ ।
र्दुभाग्य शहीदको गाथा गाईरहदा हाम्रा दलका नेतृत्व निहीत स्वार्थ केन्द्रित राजनीतिमा चुर्लम्म छन् । दम्भ र हुंकारलाई संस्कार बनाउन अभ्यस्त छन् । शासन सत्तालाई दुहुनो गाई बनाइरहेका छन् । नेतृत्वले गर्ने निणर्य निहीत स्वार्थले प्रेरित छन् । साथै निणर्य नकारात्मक सोचले पोषित पनि ।
जिम्मेवार नेतृत्व नैं लोकतन्त्ररुपी ओत लाग्ने घरलाईभेद्न गर्न महाभारतकालिन कौरव र पाण्डवको चालमा छन् । जसरी महाभारतमा कौरव पक्षलाई आशक्तिको घमण्ड थियो त्यसरी दलभित्रका कौरवहरु त्यसरी नै गुटको सत्ता चलाउन लालयित छन् ।
लोकतन्त्रलाई कुरुक्षेत्रको युद्ध बनाएर खिल्ली उडाएको देख्दा शहीदको आत्माले साच्चैं के भन्दै होला ?तर त्यो सोच वर्तमानमा अपवाद भएको छ ।
शहीदको सपनालाई तिलाञ्जली दिदैं दिवस मनाईरहनुको आखिर के अर्थ रहला ? शहीदको सुचीमा संख्या थप गर्दैंमा के स्वतन्त्रताका लागि प्राणको आहुती गर्ने शहीद प्रति सच्चा श्रद्धाञ्जली होला ?संबिधानमा शहीदको गाथा भएपनि नेतृत्वका चरित्रले त्यसलाई खिल्ली उडाइ रहेको छ ।
त्यस्ता निणर्यले तत्कालका लागि फाईदा भएपनि अन्ततःप्राण उत्सर्ग गर्ने शहीद प्रतिको अपमान नैं ठर्हनेछ । लोकले लोकतन्त्र प्रति नैं प्रहार भनेर बुझरहेको छ । त्यो वास्तविकताकस्ले बुझाइदिने ?गुटमा विभक्त कार्यकर्ता त्रेतायुगका हनुमानशैलीका छन् । उनीहरुलाई सत्बुद्धि कसले दिने ?हनुमान शैलीले दलहरुसमग्रता बाट विग्रह उन्मुख भैरहेका छन् । अन्तगोत्वा त्यसको असर व्यवस्थामा समेत पर्दै गएको छ । लोकतन्त्रको जग नैं कमजोर भैरहेको छ । यही हो अहिलेको यर्थाथता । वास्तविकतालाई नियालेर हेर्न सकौ त ।
जनमत प्राप्त दल भित्रका गतिविधी नियाल्दा अवसरवाद मात्र देखिन्छ । प्रसंगले राष्ट्रिय सभाको निर्वाचन र उम्मेद्धवार छनोटलाई मात्र हेरे पुग्छ । दलका भित्रका निष्ठावान र ईमान्दार कार्यकर्ताको विवेकले कति स्थान पाएको छ, निर्वाचनमा ?उम्मेद्धवार छना्ेटमा नेतृत्वले सम्यक विवेकप्रयोग ग¥यो वा गरेन ? जवाफ निरउत्तरित छ ।
बर्तमानमा प्रतिपक्ष बन्न पुगेको नेपाली कांग्रेस कुनैबेला सत्तापक्ष रहेको थियो । उसका गतिबिधी र निणर्य कति लोकतन्त्रक सम्मत रहे । सत्तामा पुग्नेहरुले सत्ता कैं आडमा गर्ने कर्म कति लोकतन्त्र सम्बत छन् ?
सरकारमा पुग्नेहरुकना कतिपय निणर्यले न्यायलयलाई विवाद घेरामा ल्याईदिए । न्यायलयका निणर्यले विवाद सिर्जना गरिदिदा जनतामा परिवर्तन प्रति कस्तो विश्वास छ ? मुल्यांकन कसैबाट भएको छ ?
पछिल्ला एक दशकको अवधीमा न्यायलयबाट गरिएका कतिपय फैसला विवेकशील र लोकसम्मत रहेनन् । संबैधानिक आयोग अख्तियारको कार्यशैली होस वा महालेखा परिक्षकको कार्यलयको जिम्मेवारी देश र जनताका लागि विश्वस्त रहेनन् । यसअवधीमा भष्ट्राचार घट्नुको सट्टा मौलाउदै गएको छ । मुलुकका लागि व्यवस्थापिका, कार्यकालिका ,न्यायपालिका र चौथो अंग भनिने मिडियाको संयुक्त प्रयासबाट लोकतन्त्र सवल र सदृढ गर्नु साझा जिम्मेवारी हो । तर यी निकायमा पनि दम्भका हुंकार देखिएका छन् ।
व्यवस्थापिकाले भौगोलिक अवस्थालाई मनन् गर्दैं सद्भावलाई बचाइराख्न आवश्यक छ । आरक्षणका नाममा सद्भाव र क्षमतालाई ह्रास गरिनु हुदैन् । संबिधानलाई शसक्त बनाउन सकारात्मक विचारले सोचको आवश्यक छ । जस्तै, जातिय आरक्षणलाई एक वा दुई दशक पश्चात अन्त गर्न दलहरुले विवेकको सत् प्रयोग गर्न आवश्यक छ । उक्त विषयमा प्रदेश सभा र राज्यसभामा निस्वार्थ छलफल चलाउन आवश्यक छ । आरक्षण निश्चित अवधीका उपयुक्त हो । आरक्षणकालागि आर्थिक र अवसरबाट बञ्चितलाई आधार बनाइनु पर्छ । बाहुवल र संख्यात्मक विवेक भन्दा सम्यक विवेकमा आधारित विधी आधारित सत्ता संचालनको अभ्यास हुनु पर्छ । प्रदेश र राज्यसभामा त्यो संस्कारको अभ्यास होस ।
नया“ सरकारले सबैधानिक संस्थामा योग्य व्यक्तिलाई विराजमान गराउन ध्यान दिन सकोस । नागरिकले ती संस्थालाई न्याय र विधी सम्मत संचालन भएको देख्न सकुन् । लोक,तन्त्रमा र तन्त्र,लोकमा परनिर्भर व्यवस्थाको जग बस्न सकोस । अनिमात्र लोकतन्त्र सबैको आस्थाको केन्द्र बन्नेछ ।
बर्तमान सत्तासीन दल पनि आस्था र आर्दशका हिसाबले स्वच्छ बन्न सकिरहेको छैन् । पार्टी सत्ता रह“दा गरिएका निणर्य कति लोकतान्त्रिक छन् ?नेतृत्वले पार्टीका निष्ठावान कार्यकर्ताको त्याग तपश्या र निष्ठालाई विर्सिएर सदावहार सुन्दरी नवप्रवेशी गायिका कोमल वलि सासंद बनायो ।
कपिलवस्तुबाटैं प्रदेश सभामा मनोनित भएकी फौजिया नसिम अपराधको जंजालमा घेरिएको परिवारकी सदस्य हुन् । गायिका वलि र फौजिया जस्ता कम्युनिष्ठ पार्टीबाट निर्विरोध भैरह“दा पार्टीका निष्ठावान र ईमान्दार कार्यकर्ताले कस्तो प्ररेणा लिने ? कपिलवस्तुको स्नर्दभमा भन्नुपर्दा ०४६ साल पछिको परिवर्तन पछि सदरमुकाम तौलिहवामा कम्युनिष्ठ पार्टी(एमाले)को पहिलो आमसभामा स्वागत भाषण गर्ने बक्ता नहुदा मैले गरेको मेरा लागि अविस्मरणीय छ ।
पंचायती कालारात्रीमा टाउकोको मुल्य तोकिएका कामरेडहरुलाई घरभित्र राखेर तत्कालिन ब्यवस्थाका सिआईडीहरुलाई बिश्वासमा जामा पहिराइदिएको के थाहे फौजिया र उनलाई सिफारिश गर्ने नेतृत्वलाई । पंचायती कालारात्रीमा म र म जस्ता परिवारले बचाएका बर्तमान नेतत्वका कतिपय अनुहारलाई देख्दा गर्व लाग्छ । पार्टीले गरेको बिश्वास र गोपनियताभंग नगरेको निष्ठा र आस्थाको मुल्यांकनखै ?दुधे बालकलाई पोषणबाट बञ्चित गराएर पार्टीको भबिष्यका गरिएको लगानी वलि र फौजिया सासंद बनाउन थिएन् ।
दुःखले आर्जेको पार्टीमा नबधनाढ्यहरुको अश्लिल चरित्र देख्दा लाग्छ, पार्टीको जिवनका लागि सन्तानलाई भोकै राखेर पस्किएका अन्दानाको मुल्य के थाह उनीहरुलाई । तामझामका साथ शहीद दिवस मनाइरहदा परिवर्तनका लागि आहुती गर्ने शहीद परिवारले के कसरी चित्त बुझाइरहेका छन् ? मसल, मनिर माफयिाको वशमा रहेका सत्तापक्ष र प्रतिपक्षको नेतृत्वले विवेकले भन्दा प्रतिशोधर निहीत स्वार्थले काम गरिरहेको छ, भन्न शहीद दिवसको अबसर पारेर ब्यक्त गर्न डराइरहनु नपर्ला कि ?

(पन्थी कपिलवस्तु निवासी पुरानी कम्युनिष्ठ कार्यकर्ता हुनुहुन्छ ।)

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  ४ : १३ बजे