२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

टि-२० मा पनि नेपालको इतिहास, युएइविरुद्ध १४ रनको रोमाञ्चक जित



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । 

यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट जितेर नेपालले इतिहास कायम गरेको छ  । दुबईमा वर्षाले खेल प्रभावित गरेपछि १० ओभरमा झारिएको खेलमा आज नेपालले युएइलाई १४ रनले हराएको हो । आजको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य पाएको युएइले सुरुवाती राम्रो प्रदर्शन गरे पनि पछिल्लो क्रममा ब्याट्समेनहरुको शीर्घ पतन नरोकिएपछि नेपालले उसलाई पराजित गरी  इतिहास कायम गरेको हो ।

नेपालका करन केसी, ललित राजबंशी र अविनाश बोहोराले दुई दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए। दुई ओभरमा २९ रन जोडेको यूएई सुरुमा निकै बलियो देखिएको थियो। यूएईले चार ओभर तीन बलमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो। तर तेस्रो विकेटका रुपमा सब्बरलाई अविनाश बोहोराले आउट गरेपछि यूएई दबाबमा आएको थियो। यूएईले पाँच ओभरमा ६० रन जोडेको अवस्थामा छैटौँ ओभरमा सन्दीप लामिछाने बलिङमा आएका थिए।

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले उक्त ओभरको तेस्रो बलमा टोलीको चौथो विकेटका रुपमा मोहम्मद उसमानलाई आउट गरे। उक्त ओभरमा सन्दीपले केवल तीन रनमात्र खर्चिए। यूएईले सात ओभरमा तीन विकेट गुमाएर ७३ रन जोडेको अवस्थामा करन केसी आठौँ ओभरमा बलिङमा आएका थिए। त्यस ओभरमा करनले मोहम्मद नाविद र अनवरलाई आउट गरे। त्यस ओभरमा उनले चार रनमात्र खर्चिए। करनले पहिलो ओभरमा १० रन खर्चिएका थिए।

नेपालको ओपनिङ आज पारस खड्का र पवन शर्राफले गरेका थिए । जसमा तीन बल खेलेका पवन खाता नै खोल्न नसकी आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् ।

दोस्रो टी–२० मा उत्कृष्ट पारि खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए । २१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराले नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारसले १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे ।

पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए । विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । पाँच बलमा करण केसीले १० रनको योगदान गर्दा नेपालले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको छ । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई-दुई विकेट लिए ।banner

युएईविरुद्धको टी–२० सिरिजमा अविनाश बोहोरा प्लेयर अफ दी सिरिज घोषित भएका छन् । उनी आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका छन् ।नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अविनाशले टिमसँगै अर्को छलाङ मारेका हुन् ।

करण केसी अन्तिम खेलमा म्यान अफ दी म्याच भए ।नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको हो ।यसअघि पहिलो एक दिवसिय खेलको सिरिजमा पनि सोही क्रिजमै नेपालले एकदिवसीय उपाधी हासिल गरेर इतिहास रचेको थियो ।नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३-१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १-० ले गुमाएको थियो।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  १ : ०६ बजे