२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024

डेब्यु खेलमा मैदान छिरेको १८ सेकेण्डमै गोल



एजेन्सी ।
कुनै नयाँ क्लबमा अनुबन्धित भएर त्यसबाट पहिलो खेल खेल्न मैदान छिरेको २० सेकेण्ड भित्रै गोल गर्नु जस्तो उत्कृष्ट अनुभव सायदै अरु कुनै होला एक खेलाडीका लागि ।
नयाँ क्लबमा शुभचिन्तक र फ्यानहरुको मन जित्नका लागि त्यसले ठूलो महत्व राख्छ । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर तथा यो जनवरी विण्डोमा जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट टर्किस क्लब बेसिक्टास लोनमा गएका शिन्जी कागवाले यस्तै गरेका छन् ।
शिन्जीले सोमबार बेसिक्टासबाट पहिलो खेल खेलेका हुन् । उनी खेल सुरु हुँदा बेन्चमा थिए । पछि उनी मैदान छिरे र त्यसको १८ सेकेण्डमै गोल गरे । उनी त्यतिमै रोकिएनन् ।
पहिलो गोल गरेको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरे । टर्किस सुपर लिग अन्तर्गतको खेलमा बेसिक्टासले एन्टाल्यास्पोरलाई ६–२ ले हरायो । २९ वर्षका शिन्जी ८१ औँ मिनेटमा क्लब ४–१ ले अघि रहेको अवस्थामा मैदान छिरेका थिए ।
उनले मैदान छिरेको १८ सेकेण्डमै गोल गरे र दोस्रो गोल फ्रि–किक मार्फत गरे । जापानका शिन्जी सन् २०१२ मा बोरुसिया डर्टमुण्डलाई बुण्डेस लिगा र जर्मन कपको उपाधि दिलाएपछि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए । दुई वर्षपछि अर्थात सन् २०१४ मा उनी फेरि बोरुसिया डर्टमुण्ड नै फर्किए ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  १ : १५ बजे