४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

हचुवा र पहुँचका भरमा योजना छनोटको आरोप



तम्घास ।
आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् ।
उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन नमिलेको, प्रदेशले स–साना योजना छान्ने गरेको, विधिसम्मत रुपमा योजना तलबाट छानेर माथि जानुपर्ने अवस्थामा पहुँचको आधारमा सोझै माथिबाट योजना छान्ने परिपाटी गलत भएको उनीहरुले टिप्पणी गरेका छन् ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा जिल्लाका १२ वटा स्थानीय तहका जनप्रतिनिधिसहितको उपस्थितिमा जिल्लास्थित विकाससँग सम्बन्धित कार्यालयले आव २०७५÷७६ मा सञ्चालन गर्ने कार्यक्रमको जानकारी एवं प्रगति समीक्षा कार्यक्रममा प्रस्तुतीकरणपछि प्रतिक्रिया दिँदै जनप्रतिनिधिले उक्त कुरा बताएका हुन् ।
उनीहरुले सङ्घ र प्रदेशबाट सञ्चालन गरिने कार्यक्रमको स्थानीय तहले अनुगनम गर्ने व्यवस्था मिलाउनु पर्ने, ससाना योजना प्रदेश मन्त्रालयमा गएर सम्झौता र फरफारक गर्न समस्या हुने गरेको, जिल्लामा स्थापना भएका कार्यालयमा आवश्यक जनशक्तिको अभाव भएको, जिल्लामा पशुसेवाको लागि हालसम्म पनि विशेषज्ञ सेवा उपलब्ध नभएको कारण किसानले समस्या झेल्नुपरेको, डिभिजन वनका सव–डिभिजन कार्यालय सबै स्थानीय तहमा स्थापना गर्नुपर्ने भन्दै त्यस्ता विषयलाई तत्कालै समाधान गर्नका लागि पहल गरिदिन सङ्घ र प्रदेश सरकारका प्रतिनिधिलाई आग्रहसमेत गरेका छन् । (रासस)

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १ : २७ बजे