हरि अधिकारी, कपिलवस्तु ।
शिवराज नगरपालिका (कपिलवस्तु) ले मेयर तथा उपमेयर उच्च शिक्षा कार्यक्रममार्फत पालिकाका विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गरेको छ । पालिकाको प्राविधिक तथा साधारण धार अध्ययन सहयोग छात्रवृत्ति कार्यविधि, २०८१ अनुसार गएको वर्ष २६ जना अति विपन्न किशोरीलाई छात्रवृत्ति वितरण गरिएको हो।
गत आर्थिक वर्षमा कार्यविधिअनुसार सूचना प्रकाशित गरी आवेदन संकलनपछि छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पालिकाले जनाएको छ। आर्थिक अभावका कारण पढ्ने सपना पुरा गर्न नसकेका किशोरीलाई लक्षित गरी यो कार्यक्रमले उच्च शिक्षाबाट बञ्चित हुन नदिन शैक्षिक सहयोग गरिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाडेलले बताए ।
सूचना अनुसार ८१ जना विद्यार्थीले फर्म भरेका थिए । ति मध्ये पालिकाको कार्यविधी अनुसार २६ जना विद्यार्थीलाइ २० हजारका दरले ५ लाख २० हजार रूपैया अध्ययन सहयोग उपलब्ध गराइएको हो । २६ जना सवै विद्यार्थी साधारण धार (स्नातक तह) तर्फ अध्ययनरत छन् । प्राविधिक धार तर्फ पढ्ने विद्यार्थीलाइ ४० हजार सम्म अध्ययन सहयोग उपलब्ध गराउने कार्यविधीमा व्यवस्था छ ।
विगतमा एक अपरिचित किशोरीले आर्थिक अभावका कारण १२ कक्षा पास गरेर पनि स्नातक तहमा पढ्न नसकेको र बुबा रोजगारीका लागि भारत गएका घटनाक्रम मेयर अजय थापाले संचारकर्मीसँग अनुभव साटेका थिए । सोही घटना क्रमले शिवराज नगरपालिकामा उच्च शिक्षा छात्रवृत्ति कार्यविधि २०८१ लागु भएको हो । उनले बालबालिकाको भविष्यबारे संवेदनशील रहँदै अभिभावकसँग निरन्तर संवाद गरिरहेको पनि नगर प्रमुख थापाले बताए। पढ्ने इच्छा भए पनि कतिपय बालबालिकालाई अभिभावकले उमेर नपुगी विवाह गरिदिने समस्या रहेको छ । पालिकामा बालविवाह गराउने अभिभावकलाई सचेत गराउदै कारबाही गर्ने चेतावनी पनि दिने गरेको उनले बताए ।
शिक्षा क्षेत्र सुधारका लागि अनिवार्य तथा नि:शुल्क शिक्षाको कार्यान्वयनमा पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई आर्थिक रूपमा सबल बनाउन “पढ्दै कमाउँदै” कार्यक्रम दुई विद्यालयमा सञ्चालन भइरहेको जनाएको छ। सिकाइ क्षति आपूरण तथा द्रुत सिकाइ योजना (Real Plan) सम्बन्धी शिक्षक तालिम, बहुभाषिक शिक्षा तालिम, सूचना प्रविधि तालिम, इसिडी बालशिक्षिकाको क्षमता विकास तालिमलगायतका गतिविधि सम्पन्न भएको शिक्षा शाखा प्रमुख पूर्ण बहादुर बिश्वकर्माले जानकारी दिएका छन्।
सामुदायिक विद्यालयका ३७१ जना विपन्न विद्यार्थीलाई प्रतिव्यक्ति रु ६,००० का दरले छात्रवृत्ति वितरण गरिएको छ। साथै, खेल क्षेत्रमा मेयर तथा उपमेयर कप अन्तर्गत विभिन्न इभेन्टमार्फत ५५० जना खेलाडीलाई सहभागिता गराइएको छ।
वित्तीय प्रगतिमा पनि पालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। संघीय ससर्त शैक्षिक कार्यक्रम अन्तर्गत आब २०८१/८२ मा विनियोजित रु २९ करोड ७२ लाख १८ हजार बजेटमध्ये ९२ प्रतिशत खर्च भएको छ। त्यस्तै, पालिका स्तरीय शैक्षिक कार्यक्रमका लागि विनियोजित रु ८ करोड ३५ लाखमध्ये ९२ प्रतिशत रकम खर्च भएको छ। भौतिक प्रगतिका दृष्टिले सबै कार्यक्रमको कार्यान्वयन १०० प्रतिशत भएको पालिकाले जनाएको छ।







प्रतिक्रिया