१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते



सिन्धुली ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो ।
घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट रु पाँच लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
यस्तै हिजै गाउँपालिका–१० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते हुनुभएको छ । खरबारीमा लागेको आगो निभाउन जाने क्रममा शरीरको बाहिरी भाग जलेर ६० वर्षीया अमृता दर्जी गम्भीर घाइते हुनुभएको हो ।
उहाँको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक सिहंले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ७ : १६ बजे