१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अपडेटः अनिता पौडेलको हत्या कसरी भयो, कारण यस्तो छ ?



विशेष व्यूरो, वाणगंगा ।
शुक्रबार राती कपिलवस्तुको वाणगंगामा एक महिला माथि गोली हानी हत्या गरियो । शनिबार विहान मात्रै घटना चारैतिर फैलियो । गोली हानी हत्या गरिएको वाणगंगा ४ कुवेरापुर र कपिलवस्तु सामुदायिक अस्पतालमा हत्या बारे रातभरी चर्चा भएपनि शनिबार विहान मात्र जिल्लाभर घटनाले सर्वत्र चर्चा परिचर्चा पायो । कुवेरापुर स्थित अन्दाजी २८ बर्षिय अनिता पौडेलको हत्या भएपछि शनिबार दिनभर विभिन्न चर्चा परिचर्चा भयो । यो सिंगै दिनभर गाउँ समाजमा विभिन्न टीकाटिप्पणी भयो । यद्यपि घटनास्थल पुगेको यस मायादेवी अनलाइन टिमले स्थानीयको भनाई अनुसार घटनालाई नजिकबाट केलाउने प्रयास गरेको छ । सामान्य परिवेशकी महिना माथि किन गोली हानियो ? कुनै एक विद्यालयमा कार्यालय सहायकको रुपमा काम गर्ने महिला माथि गोली नै हानि हत्या गर्नुको कारण के हो ? यी र यस्ता दर्जनौं प्रश्न सबैका मनमा तेर्सिएका छन । तर, मायादेवी अनलाइनको टिमले घटनास्थल पुगेर घटनाबारे नजिकबाट नियाल्ने प्रयास गरेको छ । यद्यपि घटनाको सुक्ष्म ढंगले प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

पाहुँना बनि आएका व्यक्तीले किन गोली हाने ?

पौडेलको हत्याराबारे अझै प्रष्ट प्रमाण फेला परेको छैन । हामीले स्थानीयलाई स्रोत मानेर समाचार सम्प्रेषण गर्दा हत्यारा पाहुँनाका रुपमा रहेको पाइएको छ । विगत तीन महिना देखि हत्या गर्ने ती व्यक्ती पौडेलको घरमा आउँजाउँ गर्ने गरेका थिए । स्थानीय भन्छन्, ‘उनका गतिविधिले अनिताको यसरी हत्या हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं । एक्कासी घटना भएछ हामीले राती मात्र थाहा पायौं ।” हत्या भएको दिन शुक्रबार दिउँसो एक जना व्यक्तीले अनिता पौडेलको घर कहाँ हो भनेर त्यहीका एक स्थानीयलाई सोधेको पाइएको छ । साँझपख अनितालाई सोध्ने ती व्यक्ति मोटरसाइकलमा सवार थिए । ती स्थानीयले अनिता संग के काम भनेर प्रति प्रश्न गरेका थिए । पछि ती व्यक्तिले अनिता संग व्यक्तीगत काम भएको बताएको थियो । समाजमा कसैले कसैलाई सोध्ने र बुज्ने सामान्य कुरा हो । मान्छेको नियतबारे थाहा हुँदैन । ती स्थानीयले पनि अरु चासो दिएनन ।
एक स्थानीयका अनुसार साँझपख मोटरसाइकलमा दुई व्यक्ति अनिताको घरमा आएका थिए । तर, अनिता घरमा थिइनन । छिमेकीको घरमा अनिता काम विशेषले गएकी थिइन । अनिताकी छोरीले घरमा दुई जना अंकल आएको भन्दै आमालाई घरमा बोलाएर ल्याएकी थिइन । साँझपख घरमा आएका ती व्यक्ति खाना खाने गरी घरमा आएको स्थानीय बताउँछन । अनिताले ती पाहुँनालाई मासु पकाएर खुवाउने निधो गरिन । सोही निर्णय अनुसार नजिकैको मासु पसलमा गई अनिताले मासु किनेर घरमा ल्याएकी खुलेको छ ।
अनिताको एक तल्ले घर छ । जसमा दुई कोठा भाडामा छन । अनिताकै घरभाडामा बस्ने एक जनाले नजिकै मासु पसल सञ्चालन गर्दै आएका छन । सोही मासु पसलबाट अनिताले मासु किनेर लगेको मासु पसलका सञ्चालक बताउँछन । त्यो समय झण्डै रातको ८ बजेको हो ।
रात छिप्पिदै गएको थियो । वरपरको परिवेश पनि सुनसान जस्तैथियो । मानिसको चहलपहल त्यति देखिदैनथ्यो । सबै आ–आफ्ना घरमा मस्त र व्यस्त थिए । अनिताको घरमा पनि के भयो कसैलाई थाहा भएन । अनिताको घरभाडामा लिएर बस्नेहरुलाई पनि अनिताबारे केही जानकारी थिएन । कोठाभाडामा बस्नेहरु भन्छन्, “ती व्यक्ती किन आएका हुन्, काम के हो हामीलाई कुनै जानकारी थिएन ।”
अनिताको एक तले घर हो । घरमा कोठाभाडामा बस्ने संगै मिलेर उनी बस्दै आएकी थिइन । एक अर्का बीच के-के भएको छ सबै कुरा थाहा पाउने परिवेश छ । किनकि घरको फ्याट एउटै हो । तर, ती दुई जना व्यक्ती पाहुना बनेर आएका भएपनि त्यस्तो गाईँगुई थिएन । चहलपहल सुनसान थियो । घरको वातावरण शान्त थियो । यस बीचमा के-के भयो घटनाबारे सबै अनविज्ञ छन ।

सबैको कोठामा चुक्कल लगाए, अनिताको हत्या गरे !

राती साढे ११ बजे अनिता एक्कासी चिच्चाएको कुरा कोठाभाडामा बस्नेले थाहा पाए । चिच्चाएको थाहा पाएपछि कोठा खोल्न थाल्दा खुलेन । आखिर दुवै कोठामा ती अज्ञात व्यक्तीले चुक्कल लगाएका रैछन । कोठामा चुक्कल लगाए पछि कोठामा बसेकाहरु घटनास्थल पुग्न सकेनन । तर, घरमा रहेको एक सटर भित्रबाट खोलेर कोठाभाडामा बस्ने एक महिला बाहिर निस्कन सफल भइन । उनी सोही सटरमा बस्दै आएकी थिइन । हत्तपत्त सटर खोलेर बाहिर निस्कदा ती दुई हतियारधारी अनितालाई हत्या गरेर मोटरसाइकल स्टाट गर्दै थिए । ती महिलालाई देखेपछि हतियारधारीले भित्र गएर अनितालाई हेर्नु भनेर फरार भएको ती महिलाले बताइन । त्यस पूर्व पनि हतियारधारीले घरको गेटमा ताला लगाउँदै थिए । महिलालाई देखेपछि ताला नलगाउँदै ती व्यक्ती मोटरसाइकलबाट फरार भएको महिलाले मायादेवी अनलाइको टिम संग भनिन ।
पछि उनले गेट हत्तपत्त खोली अनिता भएको स्थानमा पुगिन । त्यस पछिको अवस्था दर्दनाक थियो । हतियारधारीले नजिकैको कोठामा बस्नेको कोठामा पनि चुक्कल लगाई दिएका थिए । मध्य रातमा अनितालाई हत्या गरिएपछि गाउँमा हो–हल्ला भयो । प्रहरी घटनास्थल पुगे । लगत्तै उनलाई कपिलवस्तु सामुदायिक अस्पताल ल्याइयो । तर, अनितालाई बचाउँन सकिएन ।

वर्थडे भन्दै केक किन ल्याए ?

ती व्यक्तीले आज मेरो वर्थडे भन्दै अनिताका छोराछोरीलाई केक खान दिएका थिए । त्यो कुरा अनिताका छोराछोरीले गाउँलेलाई भनेका थिए । तर, कतिपयले वर्थडे मनाउँदै गर्दा अनिताको हत्या गरेको बताउँदै आएका छन । तर, घटना त्यो रुपमा नभएको अनुसन्धानले देखाउँछ । बच्चालाई केक भनेर खान दिने र अनिताको हत्या गर्ने योजना स्वरुप केक लिएर आएको हड्कलबाजी हुन थालेको छ । सो केक अनितालाई पनि खान दिइएको बताइन्छ । राती साढे ११ बजे सम्म घरको वातावरण किन सुनसान रह्यो प्रश्न तेर्सिएको छ । अनिताको हत्या गर्दा एक पटक मात्र आवाज किन सुनियो ?  किन बालबच्चा चुप रहे ? त्यो कुराले पनि केकमा केही गडबड हुन सक्ने आशंका गरिएको छ । यद्यपि यो कुरा पनि प्रहरी अनुसन्धानकै विषयमा छ  । सव पोस्टमार्टम नगर्दा सम्म केही थाहा हुँदैन ।

स्थानीय भन्छन्, एक व्यक्ती तीन महिना देखि आउँजाउँ गथ्र्यो ?

शुक्रबार राती आएका दुई व्यक्ती मध्ये एक व्यक्ति तीन महिना देखि अनिताको घरमा आइरहने गरेको स्थानीय बताउँछन । शुक्रबार साँझ पनि अनिताका दुवै छोराछोरीले सधै आउने अंकल आउनुभएको छ भनेर बताएका थिए । साथै घटना पछि अनिताकी छोरीले बुटबलको अंकलले आमालाई गोली हानेको बताएकी थिइन । त्यसले पनि त्यो व्यक्ति अनिता संगै परिचित व्यक्ती रहेको देखिन्छ । बुटवलको व्यक्ती अनिताको श्रीमानको साथी बनेर आउने गरेको कतिपयले बताउँदै आएका छन । गत माघ २७ गते अनिताको छोरीको वर्थडेको दिन पनि त्यो व्यक्ती आएको बताइएको छ । यद्यपि वर्थडेमा सबैले रमाइलो गरेको फोटा खिचाए पनि त्यो व्यक्तिले फोटो खिच्न मानेको थिएन । त्यो व्यक्तीले मेरो फोटो नखिच्चनु भनेको सोही वर्थडेमा सहभागी एक स्थानीयले सुनाए । यसले पनि अनिताको हत्या गर्ने योजना पहिला देखि नै थियो भन्ने जनाउँछ ।
त्यो व्यक्ति धेरैजसो पैदल आउने गरेको पनि बताइएको छ । तर, शुक्रबार भने मोटरसाइकलमा आएको थियो ।त्यही पनि साथी लिएर । रातभर मोटरसाइकल घरबाहिर हुँदा पनि नम्बर प्लेट कसैले ख्याल गर्न सकेनन । फेरी यस्तो अप्रिय घटना होला भन्ने कस्ले सोचेको थियो र ? त्यो व्यक्ति अनिताको घरमा कुन नियतले आउँथ्यो भन्ने पनि कसैलाई थाहा छैन । यसलाई पनि अनुसन्धानले नै थप पृष्टि गर्ने छ । तर, स्थानीयका अुनसार अनिताको घरपरिवारमा रहेको लफडा मिलाउने भन्दै आउने गरेको थियो । त्यो कुरा अनिताले गाउँलेलाई भनेकी थिइन । आफु अदालतको मान्छे भएको र घरको लफडा मिलाइदिने भन्दै आउने गरेको बताइन्छ ।

अनिताको घरायसी विवाद अदालत सम्म, श्रीमान दोस्रो विहे पश्चात भारत बस्छन

स्थानीयका अनुसार अनिता र उनका श्रीमान बीच लामो समय देखि तिक्तता रहँदै आएको थियो । घरपरिवारमा विमेल भएपछि गाउँलेले विभिन्न समयमा उनीहरुको विवाद मिलाउने प्रयास गर्दै आएका थिए । तर, श्रीमान र श्रीमती बीचको विवाद मिल्न सकेको थिएन । श्रीमानले दोस्रो विहे गरी भारतमा बस्दै आएका छन । श्रीमानले अनितालाई छोडपत्र गरी छुट्टिन चाहन्थे । यद्यपि जिल्ला अदालतले घटना घटेको दुई तीन अगाडी मात्र अनिताको पक्षमा फैसला गरेको बताइएको छ । अनिताले श्रीमान विरुद्ध मुद्धा दिएको र उनले नै जीतेको कुरा पनि स्थानीयबासी गर्छन । सोही कुरा शुक्रबार साँझ छिमेकीलाई सुनाउँन अनिता गएकी थिइन । त्यही बेला घरमा ती दुई जना हतियारधारी पाहुँना बनी अनिताको घरमा आएका थिए । घरमा अनितालाई नभेटे पछि छोराछोरीलाई अंकल आउनुभएको छ भनेर बोलाउन आग्रह गरेका थिए ।
घरायसी विवाद हुनु, अदालतले उनकै पक्षमा फैसला गर्नु र शुक्रबार राती हत्या हुनुलाई पनि रहस्यमय तरिकाले हेरिएको छ । यद्यपि प्रहारीले यस विषयमा अनुसन्धान गरिरहेको छ । चाडै सत्य, तथ्य फेला पक्कै पर्ने छ ।

गोली हानी हत्याकी अरु केही ?

अनिता पौडेलको हत्या भएपनि प्रहरीले के को माध्यमबाट हत्या भएको हो खुलाउन सकेको छैन । प्रहरीले यो विषय अनुसन्धानकै क्रममा रहेको भन्दै गोलीबाट नै हत्या भएको भन्ने केही खुल्न नसकेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम नहुँदा घटनाबारे थप विवरण आउन सकेको छैन । अनिताको माइती पक्षले भारतबाट श्रीमान आएपछि मात्र शव पोस्ट्मार्टम गर्ने बताएका छन । साथै हत्यारा पत्ता नलाग्दा सम्म छोरीको शव नदिने माइती पक्षले अडान राखेपछि शवलाई बुटवलको शवगृहमा राख्न पठाइएको छ । अनिताका श्रीमान भारतबाट नेपाल आउने क्रमको रहेको पनि बताइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ११ : ३० बजे