१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एमबाप्पे चम्के, निम्स पराजित



एजेन्सी । 

फ्रेन्च लिग वान फुटबलमा साबिक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई अरु टिमले भेट्टाउने त नजिक पुग्ने आँट पनि गर्न सकेका छैनन् ।

स्टार खेलाडी नेइमार र एडिन्सन काभानी चोटका कारण मैदान बाहिर रहेको पिएसजीले जितको क्रम जारी नै राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले निम्सलाई ३–० ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा केलिएन एमबाप्पेले दुई तथा एनकुन्कुले एक गोल गरे । ४० औँ मिनेटमा एनकुन्कुको गोलबाट पिएसजीले १–० को अग्रता लियो पहिलो हाफमा ।

एमबाप्पेले दोस्रो हाफमा दुई गोल गरे । उनले ६९ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । एमबाप्पेले यो सिजन लिगमा २२ गोल गरिसकेका छन् ।

उनले लिग वानमा ५० गोलको आँकडा पार गरे र ५० गोलको आँकडा पार गर्ने उनी सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् ।

२० वर्षका एमबाप्पेले लिग वानमा यो सिजन २० खेलमा २२ गोल गरेका छन् । उनले यो सिजन सबै प्रतियोगितामा ३१ खेलमा २७ गोल गरेका छन् ।

जितपछि पिएसजीको २५ खेलबाट ६८ अंक भएको छ । पिएसजी एक खेल बढी खेलेको दोस्रो स्थानको लिले भन्दा १७ अंकले अघि छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  १ : ३० बजे